४ जेठ, काठमाडौं । नेपालमा कोभिड-१९ को पहिलो केसबाट दोस्रो केस देखिन ठ्याक्कै ५८ दिन लागेको थियो। त्यतिबेला स्वास्थ्य मन्त्रालयका अधिकारीहरुको दाबी थियो, ‘१ बाट २ भयो अब १ सयभन्दा कट्न दिन्नौं।’
उनीहरुले आफ्नो दाबी प्रमाणित गर्नका लागि केही विज्ञहरुलाई महामारीको पुर्वानुमान गर्न पनि लगाए। ती विज्ञ टोलीको अध्ययनले भन्यो, ‘जेठको पहिलो साताबाट नेपालमा संक्रमित घट्न थाल्नेछन्। त्यसपछि लकडाउनको खुकुलो बनाउँदै लानुपर्छ।’
महामारी नफैलिने आकलन गरिरहेका स्वास्थ्य मन्त्रालयका सचिवालयलाई ती विज्ञहरुको निष्कर्ष ढुंगो खोज्दा देउता मिलेझैं भयो। स्वास्थ्य मन्त्री भानुभक्त ढकालले त्यही अध्ययनका आधारमा कोरोना संक्रमण सुरु भएको लामो समयसम्म पनि नेपालमा कोरोनाले भयावह रुप नलिने रटान लगाइरहे।
तर, अहिले ठीक उल्टो अवस्था आएको छ। संक्रमितको सङख्या दिनहुँ बढ्दै गइरहेको छ भने कोभिडकै कारण पहिलोपटक एक २९ वर्षीया महिलाको मृत्यु भइसकेको छ। जसले कोभिड महामारी राज्यको नियन्त्रण बाहिर गएको संकेत गरेको छ।
जनस्वास्थ्य विज्ञहरुका अनुसार कुनै पनि महामारीको विरुद्दमा लड्नका लागि राज्यका सबै निकायहरुले सुरुमा बलियो मानसिकता बनाउनुपर्छ। महामारीविरुद्ध लड्ने मानसिकता बनाएपछि नै विभिन्न योजनाहरु बन्ने गर्छन्। योजनामा छलफल हुन थालेपछि राज्यका सबै निकायको तालमेल मिल्छ।
अन्य देशमा कोरोनाले भयावह अवस्था सिर्जना गर्दासम्म नेपालमा संक्रमित एक हातको औंलामा गन्न मिल्ने थिए। यो वीचमा राज्यले धेरै तयारी गर्न सक्थ्यो। तर, सरकारी अधिकारीहरुले अन्य देशमा भएको मानवीय क्षतिलाई नजरअन्दाज गरे। नेपालमा कोरोना फैलिँदैन भन्ने राजनीतिक विज्ञका कुरा सुने। लामो समयसम्म लकडाउन गरे । तर, परीक्षणको दायरा बढाउन जोड गरेनन्। जनस्वास्थ्य विज्ञहरुको भाषामा भन्नुपर्दा महामारीविरुद्द लड्ने मानसिकता नै बनाएनन्।
र, फलस्वरुप पहिलो केस भेटिएको चार महिनासम्म पनि कुनै गतिलो पूर्वाधार निर्माणमा ध्यान दिएनन्। संक्रमितलाई वैकल्पिक व्यावस्थापन गर्ने सोच कसैलाई आएन।
जिवाणु वैज्ञानिक समिरमणि दीक्षित, संक्रामक रोग विशेषज्ञ डाक्टर अनुप सुवेदी र जनस्वास्थ्य विज्ञ शरद वन्तले बारम्बार सरकारलाई भनिरहेका थिए, ‘नेपालमा कोभिडको महामारी फैलिँदैन भन्ने मानसिकताले गर्दा सरकारले केही तयारी गरेको देखिँदैन। यही सोच हावी भइरह्यो भने नेपालको महामारी नियन्त्रण बाहिर जान सक्छ।’
यो पनि पढ्नुहोस कोरोनाबाट ज्यान गुमाएकी महिला : टोखामा बस्थिन्, डेलिभरी भएपछि मात्र गाउँ लगिएको थियो
उनीहरुको कुरामा सहमति जनाउँदै अन्य विज्ञले थपेका थिए, ‘ महामारी फैलिन सुरु गरेपछि हामीले चाहेर पनि तयारी गर्न सक्दैनौं, त्यसैले छिटो भन्दा छिटो व्यापक परीक्षण र पूर्वाधार निर्माणमा जोड दिइएन भने पछि जे पनि हुन सक्छ।’
तर, स्वतन्त्र विज्ञहरुका कुरा सरकारले काग कराउँदै गर्छ, पिना सुक्दै जान्छ भनेझैं गरेर लियो। सोही कारण पछिल्लो एक सातामा सङक्रमितको रफ्तार अनुमान गरेको भन्दा बढ्यो। अन्तत : कोभिडकै कारण एक सुत्केरी महिलाको मृत्यु पनि भयो।
यो अवस्थामा आइपुग्दा पनि पहिलो केसको भेटिएको अवस्था भन्दा अन्य पूर्वाधार केही थपिएको छैन।
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पहिलो केस भेटिँदा पनि ५ वटा आइसोलेसन बेड थिए। अहिले १ जनाको मृत्यु भइसक्दा पनि ५ वटा मात्रै आइसोलेसन बेड छन्। अस्पतालका निर्देशक सागर राजभण्डारी अब केही दिनमा ३० वटा आइसोलेसन बेड थपिने बताउँछन्।
देशको केन्द्रीय अस्पतालको हालत त यस्तो छ भने प्रदेशस्तरीय अस्पतालहरु कुन अवस्थामा होलान् ?
प्रदेशस्तरीय अस्पतालको आइसोलेसनमा बस्ने संक्रमितले भनिरहेका छन्, ‘अस्त व्यस्त र भद्रगोल, आइसोलेसन वार्डले गर्दा अन्य बिरामीले थला परिएला जस्तो छ।’
आइसलोसेन बेड अपुग र भद्रगोल रहेको थाहा पाउँदा पाउँदै पनि स्वास्थ्य मन्त्रालयको स्वास्थ्य विज्ञ डाक्टर खेम कार्की एक लाख मानिस संक्रमित भए पनि उपचार गर्न सक्ने अवस्थामा रहेको बताउँछन्।
के यो सम्भव छ ? एकपटक तथ्यांक हेरौं।
मन्त्रालयको तथ्यांकअनुसार देशभर निजी र सरकारी अस्पतालका कुल बेड सङख्या २६ हजार नौ सय ३० हो। यसमा तीन हजार ७६ आइसोलेसन बेड छन्। यसमा कोभिड-१९ बाहेकका अन्य बिरामीहरूको पनि उपचार गराउनुपर्ने हुन्छ।
यस्तै देशभरका अस्पतालमा एक हजार पाँच सय ९५ आईसीयू बेड छन् भने आठ सय ४० भेन्टिलेटर छन्। एक सय ९४ वटा अस्पतालमा आईसीयूको सुविधा छ।
मन्त्रालयका अनुसार लेभल-१ अस्पताल १३ वटा छन् भने लेभल-२ अस्पताल १२ वटा छन्। यस्तै लेभल-३ अस्पताल तीनवटा छन्।
सरकारले डेन्जर जोन मानेको प्रदेश २ र ५ मा झनै अस्पताल र त्यहाँको पूर्वाधार निकै कमजोर छ।
स्वास्थ्यमन्त्रीले कुरा सुनेनन् कि बुझेनन् ?
पूर्वतयारीमा जोड दिइएन भने कोरोना नियन्त्रण गर्न गाह्रो छ भनेर विज्ञहरुले मन्त्रालयको मिटिङमा पटक-पटक कुरा उठाएका थिए। मन्त्रालयका कर्मचारी र केही विज्ञहरुले पटक-पटक कुरा उठाउँदा पनि स्वास्थ्य मन्त्री भानुभक्त ढकालले पूर्वाधारको पुनर्निर्माणमा जोड नदिएको स्वास्थ्य मन्त्रालयका एक उच्च तहका कर्मचारी बताउँछन्। उनका अनुसार स्वास्थ्यमन्त्री ढकालले मन्त्रालयका केही कर्मचारीहरुलाई ‘डाक्टरहरुले नेपालमा कोरोना फैलिन्न भनेका छन्, त्रास नफैलाउनुस्’ भनेर समेत थर्काएका थिए।
‘महामारीको संकेत गर्दा मन्त्रीले हामीलाई मिटिङमा थर्काए, मन्त्रीकै मानसिकता यस्तो भएपछि हामीले मात्रै के गर्न सक्थ्यौं र ?’ नाम नबताउने शर्तमा ती कर्मचारी भन्छन्, ‘झुट फैलाउनु र त्यसलाई विश्वास दिलाउनु नै मन्त्रीको सचिवालयको प्रमुख अस्त्र भएको छ, जसले गर्दा स्वास्थ्यमन्त्री हामीले भनेको कुरा पत्याउँदैनन्।’
महामारी फैलियो भने यही पूर्वाधारले कोभिडविरुद्ध लड्न सकिएला त ?
‘सकिन्न, कोभिड महामारी राज्यको नियण्त्रण बाहिर गइसक्यो भनेर हामीले १ साता अगाडि नै भनेका थियौं’ नाम उल्लेख नगर्ने शर्तमा मन्त्रालयका एक विज्ञ भन्छन्, ‘चार महिना अगाडि नै पूर्वतयारी गरौं भन्दा नेपालमा केही हुन्न भनेर मन्त्रीले कुरा सुनेनन्, अहिले टाउकोमा हात राखेर के हुन्छ ?’
मन्त्रालयका अर्का अधिकारी स्वास्थ्य मन्त्रालयभित्रकै विभिन्न विभागहरुको तालमेल नमिलेकाले यो अवस्था सिर्जना भएको बताउँछन्। स्वास्थ्यमन्त्री ढकालले भाइरसले गर्न सक्ने क्षतिको पूर्वानुमान गर्न नसकेर यो अवस्था सिर्जना भएको उनको तर्क छ।
‘स्वास्थ्यमन्त्री आफूले पनि भाइरसको क्षति आकलन गर्न नसक्ने र विज्ञले भनेको कुरालाई राजनीतिक चस्माले हेरेका कारण अहिलेसम्म पूर्वाधारमा जोड दिन नसकिएको हो’ ती विज्ञ भन्छन्, ‘संक्रमितको मृत्यु भएपछि पूर्वाधार निर्माण गर्छु भनेर त कहाँ सम्भव हुन्छ ?’
मन्त्रालयको छलफलमा संक्रमितहरु थपिए भने राख्नका लागि आइसोलेसनको वैकल्पिक छलफल गरेपनि कसैले चासो नदिएको स्वास्थ्य मन्त्रालयका अर्का विज्ञ बताउँछन्। उनका अनुसार स्वास्थ्य मन्त्रीले मन्त्रालयका कर्मचारी र केही स्वतन्त्र विज्ञको कुरा मानेको भए अहिले धेरै पूर्वतयारी भइसक्ने थियो। उनी भन्छन्, ‘त्यतिबेला मन्त्री र उहाँको सल्लाहकारहरुको मानसिकता परिवर्तन गर्न सकेको भए अहिले संक्रमित बढे पनि आइसोलेसनमा राख्न त सकिन्थ्यो, तर अब त ढिला भयो।’
पहिलो मृत्युले दिएको सन्देश झन खतरा !
कोरोनाको कारण मृत्यु भएको घटना सार्वजानिक हुनुअघि वीरगञ्जको नारायणी अस्पतालमा आइसोलेसनमा बसेका २ जना बिरामी भागेको समाचार बाहिरियो।
यो खबर बाहिरिनुअघि नारायणी अस्पतालमा बेडको अभाव भएर १८ जना संक्रमितलाई अस्पताल ल्याउन सकिएको थिएन। जसको कारण संक्रमितको सङख्या बढ्नासाथ उपचार पाउन गाह्रो भएको धेरैले बुझिसकेका थिए। राज्यले पूर्वतयारी गर्ने ४ महिना लामो समय पाउँदा पनि केही नगरेको प्रमाणित भएको थियो।
यो बीचमा अस्पतालमा बसेका संक्रमित भागे गोली हान्ने आदेशसम्म दिने निर्णय भए। भलै यो निर्णय पछि सच्याइयो। तर, अस्पतालको अस्तव्यस्त आइसोलेसन वार्डका बारेमा कतै बहस भएन। डाक्टर दीक्षित भन्छन्, ‘४ महिनापछि पनि आइसोलेसन वार्डहरुको हालत त्यस्तो हुनु भनेको राज्यले देशमा कोभिड १९ को महामारी फैलदैन भन्ने मानसिकता राख्नु हो।’
जिवाणु वैज्ञानिक सुदीप खड्का पहिलो कोभिड मृत्युको केसले नेपालमा कोभिडले माहामारीको रुप लिइसकेको संकेत गरेको बताउँछन्। सुत्केरी बेथा लागेका बेला वा डेलिभरीका बेला ती महिलाको मृत्यु भएको भए मृत्युको कारणसमेत पत्ता नलाग्ने उनको तर्क छ।
‘यस्ता केस कति होलान्, समयमै टेस्ट भएको भए अहिले यो अवस्था आउन्न थियो’ उनी भन्छन्, ‘अब सबैले हामी डेञ्जर जोनमा रहेको कुरा बुझ्न ढिलो गर्नुहुन्न्।’
लकडाउन सुरु हुनासाथ पीसीआर टेस्टको दायरा बढाएको भए यो महामारीको पूर्वानुमान हुने डाक्टर दीक्षित बढाउँछन्। टेस्ट नै कम भएकाले राज्यलाई महामारीको आकलन नभएको उनको तर्क छ।
‘लकडाउन सुरु हुँदै व्यापक टेस्ट गरेको भए अहिले टाउकोमा हात लगाएर बस्नुपर्ने नै थिएन्’ उनी भन्छन्, ‘टेस्ट कम भएपछि लड्न असम्भव हुन्छ नै, महामारीले आफ्नो समय लिएरै छाड्छ।’
यो पनि पढ्नुहोस बाँकेमा क्वारेन्टाइन बसेका युवकको मृत्युfrom कोरोना भाइरस – Online Khabar https://ift.tt/2TaxNsA