६ जेठ, बुटवल । गुल्मीका कोरोना संक्रमित उपचाररत रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालका चिकित्सक, बिरामी र बिरामी कुरुवामा मंगलबार कोरोना परीक्षण गरिने भएको छ ।
अस्पतालभित्र रहेकाहरुको स्वाब संकलनका लागि पीपीई लिएर जाने तयारी भइरहेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद गिरीले बताए ।
स्थानीय प्रशासनले अस्पताललाई सोमबार सांझदेखि नै सिल गरेको छ । सिल गरेपछि डाक्टर, नर्ससहित १ सय २५ जना र कर्मचारी, ३७ जना भर्ना भएका विरामी र विरामीका कुरुवा करिब ८० जना अस्पतालभित्रै छन् ।
एक हप्तादेखि ज्वरो र टाउको दुखाइको समस्या लिएर जेठ १ गते अस्पतालमा उपचारका लागि आएका गुल्मी मदाने गाउँपालिका– ६ पुर्कोटदहका ४१ वर्षका पुरुषमा सोमबार कोरोना संक्रमण पुष्टि भएको थियो ।
अस्पतालले उनको आईसीयूमा भेन्टिलेटरको सहायताले उपचार भइरहेको जानकारी दिएको छ ।
छाया पोलिक्लिनिकका १० जनाको स्वाब संकलन
हाल उपचार गराइरहेका कोरोना संक्रमित व्यक्ति जन्डिसको समस्या देखिएपछि सुरुमा जेठ १ गते उपचारका लागि छायाँ पोलिक्लिनिक अर्घाखाँची पुगेका थिए ।
त्यहाँ दुई घण्टा चेकजाँच गराएपछि थप उपचारको लागि एम्बुलेन्समा क्रिमसन अस्पताल लगिएको थियो । उक्त पोलिक्लिनिकमा पनि कोरोना संक्रमण भएको हुन सक्ने आशंकामा १० जना स्वास्थ्यकर्मीको स्वाब संकलन गरिएको छ ।
सोमबार क्लिनिक सिल गरी १० जनाको स्वाब सोमबार राति नै प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवा पठाएको स्वस्थ्य कार्यालय अर्घाखाँचीका सूचना अधिकारी विजय बरालले जानकारी दिएका छन् ।
from कोरोना भाइरस – Online Khabar