११ जेठ, काठमाडौं । एकै दिन १२ जनामा संक्रमण भएपछि उदयपुरको भुल्के एक समय कोरोना महामारीको हटस्पट मानिएको थियो । संक्रमितको संख्या बढ्दै गएर उदयपुरमा ३१ जनासम्म पुगेका छन् । संक्रमितमध्ये एक जना पत्रकार पनि रहेका छन् ।

उदयपुरका २७ पत्रकारको पीसीआर प्रविधिबाट परीक्षण गर्दा जेठ २ गते पत्रकार राकेश नेपालीमा संक्रमण पुष्टि भयो । अहिले उनी विराटनगरको कोशी कोभिड–१९ विशेष अस्पतालको आइसोलेनमा छन् ।

शुरुका दिनहरुमा केही अस्वस्थ रहेको बताएका उनी हिजोआजस्वस्थ रहेको बताउँछन् । अब छिटै निको भएर काममा फर्किने उनको आशा छ ।

कोरोना संक्रमित नेपालीको अनुभव उनकै शब्दमा : 

जेठ २ गते बेलुका त्यस्तै ७ बजेको हुँदो हो । मैले काम गर्ने टेलिभिजनका प्रदेश ब्यूरोमा कार्यरत सरले फोन गरेर कहाँ हो ? भनेर सोध्नुभयो । उहाँको आवाज अलि अत्तालिएको जस्तो थियो ।

‘म अफिसमै छु सर, किन र ? मैले जवाफसँगै जिज्ञासा राखेँ ।

उताबाट आवाज आयो, ‘तपाईं जहाँ हुनुहुन्छ त्यहीँ बस्नुस्, तपाईंको साथमा कोही छ भने टाढा बस्न भन्नुस् ।’

उहाँको भनाइले डर लाग्यो । तै पनि संयमित हुँदै सोधेँ, ‘खासमा के भएको हो र ?’

उहाँले धरानमा परीक्षण गर्दा मलाई कोरोना पोजेटिभ भएको सुनाउनुभयो ।

मेरा खुट्टाहरु लगलग काम्न थाले, एक्कासी धड्कन बढेजस्तो भयो । रिंगटा लागेजस्तो भयो, थचक्क भुइँमा बसेँ । कतिबेला फोन काटियो पत्तो भएन ।

अरु पत्रकार साथीहरूले पनि फोन गर्नुभयो र नअत्तालिन भन्दै सम्झाउनुभयो । अप्रत्याशित खबरले दिमागमा हलचल नै ल्याइदिएको थियो । ओठमुख सुके । आउने दिनहरूको कल्पनाले थप त्रसित भएँ ।

दुई दिनअघि कोरोना प्रभावित भुल्के क्षेत्रको रिपोर्टिङमा खटिएका उदयपुरका २७ जना पत्रकारको (पीसीआर) नमूना स्वाब संकलन गरिएको थियो । जसमा मेरोमात्रै रिपोर्ट पोजेटिभ आयो ।

मसँगै एउटै भान्सामा खाना खाने र एउटै अफिसमा काम गर्ने सहकर्मीको पनि रिपोर्ट नेगेटिभ आयो ।

शरीर काँपिरहेको थियो । साथीहरूले चिउरा र फुरनदानाको प्याकेट ल्याइदिएका थिए, तर खान मन लागेन ।

लकडाउन सुरु भएदेखि राति पनि अफिसमै बस्न थालेको थिएँ । त्यो रात भोकै सुतें । रातभर निद्रा लागेन ।

बिहान ६ बजेदेखि नै फोन आउन थाल्यो । सबैले नआत्तिन, मन दह्रो पार्न ढाडस दिनुहुन्थ्यो ।

लगभग बिहान ८ः३० बजे अफिसको गेट अगाडि एम्बुलेन्स आइपुग्यो ।

गाईघाट बजार र म बस्ने टोलका २ सय भन्दा बढी मानिस भेला भएका थिए । सबैले मलाई नियालिरहेका थिए । एम्बुलेन्समा चढ्नुअघि पत्रकार साथीहरू मलाई बिदाइ गर्न आउनुभयो ।

एम्बुलेन्स अघि बढ्यो, मन गह्रौं बनाएर गाईघाटबाट बाहिरिएँ । ४ घण्टापछि विराटनगरस्थित कोशी कोरोना अस्पतालको गेटमा एम्बुलेन्स रोकियो ।
त्यहाँ पुगेपछि फोन गर्न अस्पतालका एक कर्मचारीको फोन नम्बर दिइएको थियो । कल गरेँ । ‘नमस्कार, म राकेश नेपाली बोल्दैछु, उदयपुरबाट आएको कोरोना संक्रमित पत्रकार ।’

मेरो आवाज सुनेर छक्क पर्दै ती कर्मचारीले जवाफ फर्काए, ‘तपाईंलाई यहाँ ल्याउने कुनै सल्लाह नै भएको छैन, कसरी आउनुभयो !’

ती कर्मचारीको जवाफ सुनेर म तीन छक परेँ । म आफैं आएको होइन जिल्लाको संयन्त्रले मलाई यहाँ पठाएको हो । तपाईंहरुसँग कसरी समन्वय भएन ?’ मैले केही आक्रोशित हुँदै भने ।

उताबाट आशलाग्दो जवाफ नपाएपछि पत्रकार महासंघ प्रदेशका अध्यक्ष बिक्रम लुइँटेललाई सम्पर्क गरेँ ।

जसोतसो त्यही अस्पतालमा बस्ने वातावरण मिलाइयो । सुरुमा बस्ने कोठाको फोहोर देखेर साह्रै दिक्क लाग्यो । अस्पताल व्यवस्थापन समितिलाई फोन गरेर अर्को कोठा व्यवस्थापन गर्न वा यसैलाई सफा गरिदिन आग्रह गरेँ ।

अस्पतालमा कोठाको अभाव रहेकोले त्यसैमा बस्न आग्रह गर्नुभयो उहाँहरुले ।

उहाँहरुको कुराले छट्पटी बढ्न थाल्यो, वरिपरिको फोहोरले झनै दिक्क बनाउँथ्यो । सुरुका दिनहरुमा खानासमेत मीठो लागेन । शौचालय फोहोर थियो । भित्रको वातावरणले उकुसमुकुस बनाइरहेको थियो ।

त्यस्तो अवस्थामा आत्मबल बलियो बनाएर बस्नुको विकल्प थिएन । पछि आफैंले कुचो र सेनिटाइजर मागेर कोठा सफा गरेँ । ट्वाइलेट, बाथरुम पनि सफा गरेँ ।
विस्तारै यहाँको वातावरणमा घुलमिल हुन थालेँ । म मात्रै होइन, म जस्तै अरु पनि छन् यहाँ भन्ने महसुस हुन थाल्यो । सबै संक्रमितसंग पारिवारिक वातावरण सुरु भयो । स्वास्थ्यकर्मीसँग पनि राम्रो सम्बन्ध स्थापित हुन थाल्यो ।

अहिले स्वास्थ्य समस्या पनि देखिएको छैन, दैनिकी सहज बनेको छ । साथीहरुले फोन गरेर के– कस्तो छ भनेर सोधिरहुनुभएको छ । कसैले बोल्न सक्नुहुन्छ ? भेन्टिलेटरमा राखेको छ हो ? सास फेर्न गाह्रो भएको होला है ?’ भनेर सोध्नुहुन्छ ।

अहिले म स्वस्थ छु । कोरोना लागेको जस्तो अनुभूति छैन । चाँडै घर फर्कन्छु भन्नेमा ढुक्क छु । मबाट अरुलाई संक्रमण नफैलियोस् भन्नेमा सचेत छु । मसँग सम्पर्कमा आएका सबैको नेगेटिभ रिपोर्ट आओस् । हुन त मसँगै एउटै भान्सामा खाना खाने साथीको रिपोर्ट नेगेटिभ आइसकेको छ ।

म एक स्थानीय दैनिक पत्रिका र अनलाइनमा पनि कार्यरत छु । कोरोना महामारी रोक्न गरिएको लकडाउनको पालना, जिल्लामा कोरोना रोकथामका लागि भएका प्रयासलगायतका विषयमा नियमित रिपोर्टिङ गरिरहेको थिएँ ।

लकडाउनको व्यापक उल्लंघन भइरहेको थियो । एक लिटर दूध लिनका लागि बिना पास कार लिएर बजार निस्किनेहरु पनि रिपोर्टिङका क्रममा फेला परे । उक्त घटनाको भिडियोसहितको समाचार आएपछि सम्बन्धित व्यक्ति र नाम कहलिएका तथा व्यापारीहरुले भिडियो हटाउन दबावसमेत दिए ।

लकडाउन पालना गराउन प्रहरीहरु लाठी र सिठ्ठी लिएर बजार निस्किन्थे, हामी अघिपछि क्यामेरा लिएर दौडिन्थ्यौं । भोक र प्यासले व्याकुल भइन्थ्यो, शरीर कमजोर हुन्थ्यो । चाउचाउ खाएर ड्युटी गरिरहेका सुरक्षाकर्मीको तस्वीर खिच्दा आफ्ना भोक प्यास बिर्सन्थ्यौं ।

लकडाउनका कारण काम गुमाएका मजदुरको समस्या बुझ्न उनीहरुका घर पनि पुग्यौं ।

त्यही बीचमा वैशाख ५ गते अप्रिय घटना सुन्नुपर्‍यो । त्रियुगा नगरपालिका ३ भुल्केमा रहेको नुरी मस्जिदमा बसिरहेका १२ जना भारतीयमा कोरोना संक्रमण पुष्टि । त्यसपछि मेरो ध्यान पनि उतै तानियो ।

कोरोना संक्रमण फैलिएको पर्सिपल्ट अर्थात वैशाख ७ गते रिपोर्टिङका लागि भुल्के पुगेँ । त्यो दिन काठमाडौंस्थित छाउनी अस्पतालबाट आएका डा. प्राची रायमाझीको टोलीले २५० जनाको स्वाब संकलन गर्‍यो । तीमध्ये ८ जनामा कोरोना संक्रमण पुष्टि भयो ।

भुल्के क्षेत्रमा कोरोना संक्रमितको संख्या बढ्दै गइरहेको थियो । रिपोर्टिङ गर्दा सकेसम्म सतर्क नै भएको थिएँ । मास्क, सेनिटाइजर, पञ्जा छोडेको थिइनँ, भौतिक दूरी कायम गर्नुपर्छ भन्ने बिर्सिएको थिइनँ ।

भुल्केमा प्रदेश सरकारको सहयोगमा वैशाख १२ गते गरिएको स्वास्थ्य शिविरको रिपोर्टिङ गर्न पनि पुगेको थिएँ ।

वैशाख १३ गते प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, कानुनमन्त्री हिक्मत कार्की र सामाजिक विकास मन्त्री जीवन घिमिरेसहितको टोली भुल्के क्षेत्र पुग्यो । त्यो दिन पनि म भुल्के गएको थिएँ ।

स्थानीय पसलमा भुल्केबासीले दिने पैसा चल्न छाडेको थियो, उनीहरुले खाद्यान्नलगायत अत्यावश्यक सामग्री किन्न पाइरहेका थिएनन् । यो विषयमा रिपोर्टिङ गर्न वैशाख २२ गते पनि भुल्के गएको थिएँ ।

त्यसपछिका दिनमा लकडाउनका कारण आफ्नो कृषि उपजमा क्षति बेहोरेका किसानको अवस्था बुझ्न त्रियुगा नगरपालिकाको बिसनपुर, पोर्ताहा, मोतिगडा, बगाहा, भान्टाबारी, गैरुन, राजाबास, साउने, निपाने लगायतका क्षेत्रमा रिपोर्टिङका लागि पुगेँ । जहाँ गए पनि दूरी कायम गरेकै थिएँ ।

वैशाख १६ गते नेपाल पत्रकार महासंघ र प्रेस काउन्सिलको टोली उदयपुरका पत्रकारको अवस्था बुझ्न सदरमुकाम गाईघाट आइपुगेको थियो । त्यहाँ पनि म थिएँ ।

उदयपुर घर भएकै कारण बिरामी निकाल्ने विराटनगरस्थित नोबेल अस्पताललाई कारबाही गर्न माग गर्दै जिल्लाबाट प्रतिनिधित्व गर्ने प्रदेश सांसद, त्रियुगा नगरपालिका र पत्रकार महासंघ, उदयपुरले वैशाख २१ गते नगरपालिकाको हलमा कार्यक्रम गरेका थिए, त्यहाँ पनि गएको थिएँ ।

वैशाख ३० गते भुल्केका नागरिकको रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधि वितरणका लागि आएको विराटनगरको टोलीले त्रियुगा नगरपालिकामा कार्यक्रम आयोजना गरेको थियो, त्यो कार्यक्रममा पनि म सहभागी भएँ । जिल्ला समन्वय समिति उदयपुरका प्रमुख खड्ग परियारको अन्तर्वार्ता लिएँ ।

कोरोनासँग त मलाई कुनै चिन्ता छैन, तर कोरोना सन्क्रमित भएपछि समाजले मप्रति हेर्ने दृष्टिकोण र गर्ने व्यबहार पहिला भन्दा फरक नहोस् ।

अरुलाई सचेत गराउँदा गराउँदै आफैं संक्रमित भइन्छ भन्ने कहिल्यै लागेन, सधैं आफू सुरक्षित छु जस्तो लाग्थ्यो । तर त्यस्तो भएन । त्यसैले हामीलाई देख्दा समाजले नाक नखुम्च्याओस् । म छिटै निको भएर फेरि काममा फर्किनेछु ।

म अस्पतालमा रहँदा हौसला बढाउने, मेरो उपचारमा खटिने सबैलाई धन्यवाद दिन्छु । सबै सुरक्षित रहनुहोला ।



from कोरोना भाइरस – Online Khabar
Previous Post Next Post