३० वैशाख, बुटवल । कोरोना संक्रमण पुष्टि भएका रुपन्देहीका ६ जना लकडाउनकै बीचमा भारतीय सीमा क्षेत्रबाट लुकिछिपी रुपन्देही आएको खुलेको छ । भारतको मुम्बई, नयाँदिल्लीलगायतका शहरबाट दशगजासम्म आइपुगेका उनीहरु सुरक्षाकर्मीको आँखा छलेर एक हप्ताअघि नेपाल भित्रिएका हुन् ।

सोमबार कोरोना संक्रमण पुष्टि भएका ६ जनामध्ये ४ जना भारतसँग सीमा जोडिएको सम्मरीमाई गाउँपालिका-७ का र २ जना लुम्बिनी साँस्कृतिक नगरपालिकाका बासिन्दा हुन् । सम्मरीमाई-७ का ४ जना पुरुषमध्ये तीनजना भारतबाट नेपाल भित्रिएपछि सीधै स्थानीय मदरसामा बनाइएको क्वारेन्टाइनमा गएर बसेका थिए ।

एकजना भने भैरहवासम्म पुगेको जानकारी आएकाले उनको कन्ट्याक्ट ट्रेसिङ गर्ने काम भइरहेको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी खड्गबहादुर खत्रीले बताए । सम्मरीमाईको मदरसाको क्वारेन्टाइनमा उनीहरुसहित २८ जना बसेका थिए । गाउँपालिकाका ७ वटा क्वारेन्टाइनमा १ सय ५२ जना रहेका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज भट्टराईले बताए ।

लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नंं. १ र ४ का संक्रमित दुवैजना भारतको मुम्बईबाट एकसाता अघि आएका हुन् । उनीहरु दुवैजना घर आउँदै गरेको जानकारी पाएपछि सीधै लुम्बिनी बौद्ध विश्वविद्यालयको छात्रावासको क्वारेन्टाइनमा राखिएको नगरप्रमुख मनमोहन चौधरीले बताए ।

यो पनि पढ्नुहोस थप १३ जनामा कोरोना संक्रमण पुष्टि, एकै दिन थपिए २४ संक्रमित

नगरपालिकाका क्वारेन्टाइनमा रहेका १ सय २८ जनामध्ये ६२ जनाको स्वाब परीक्षणका लागि नमूना संकलन गरिएको र १० जनाको रिपोर्ट सार्वजनिक हुँदा २ जनामा संक्रमण देखिएको नगरप्रमुख चौधरीले जानकारी दिए । कोरोना संक्रमण पुष्टि भएका ६ जनालाई मंगलबार क्वारेन्टाइनबाट कोरोना विशेष अस्पताल बुटवल वा भीम अस्पताल भैरहवाको आइसोलेसन बेडमा लगिने सम्बन्धित पालिकाका प्रतिनिधिले बताए ।

यसअघि कोरोना संक्रमण पुष्टि भएका रुपन्देहीको कोटहीमाई गाउँपालिकाका युवक पनि मर्चवारको ठोठरी नाका हुँदै लुकिछिपी घर भित्रिएका थिए । भारतसँग सीमा जोडिएका रुपन्देहीका विभिन्न नाका क्षेत्रमा अहिले पनि एक हजार बढी नेपाली अलपत्र अवस्थामा बसेका छन् । उनीहरुमध्ये कतिपय रातको समयमा सुरक्षाकर्मीको आँखा छलेर नेपाल भित्रिने गरेका छन् ।

 



from कोरोना भाइरस – Online Khabar https://ift.tt/3fF86dt
Previous Post Next Post