नेपोलीका प्रशिक्षक जिनारो गाटुसोले आफ्नो प्रशिक्षण जीवनमा पहिलो पटक उपाधि जितेसँगै फुटबलको भगवान्लाई धन्यवाद दिएका छन् । इटालियन कपअन्तर्गत बुधबार रोमस्थित स्टाडियो ओलिम्पिसियोमा भएको फाइनलमा नेपोलीले युभेन्ट्सलाई पेनाल्टी सुटआउटमा ४–२ ले हराएको हो । निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि विजेताको टुंगो पेनाल्टी सुटआउटमा लगाइएको हो । खेल बन्द रंगशालामा खेलाइएको थियो ।

१३औं पटकको इटालियन कप विजेता युभेन्ट्सका पाउलो डिबालाको प्रहार नेपोलीका गोलकिपरले विफल पारेका थिए भने ड्यानिलोको प्रहार अकासिएको थियो । यता नेपोलीका अर्काड्युज मिलिचले बललाई जाली चुमाउँदै नेपोलीका लागि छैटाैं पटक इटालियन कपको उपाधि पक्का गरेका थिए ।

सन् २०१४ पछि नेपोलीले जितेको यो पहिलो प्रमुख उपाधि हो । डिसेम्बरमा कार्लो एन्सेलोट्टीले प्रशिक्षण छोडेपछि नेपोलीमा आएका गाटुसोको पनि प्रशिक्षकका रूपमा यो पहिलो उपाधि हो ।

‘जीवनमा केही पक्ष स्वीकार गर्न सकिँदैन तर फुटबलले मलाई सबै चिज दिएको छ,’ ४२ वर्षे गाटुसोले भने, ‘मलाई थप जिम्मेवारी बढेको जस्तो लागेको छ । म अहिले पनि फुटबल छोड्न सक्दिनँ । मैले आज नेपोलीलाई यस्तो टोलीका रूपमा देखें,जुन उपाधिको खडेरी तोड्न चाहन्थ्यो । हामी आज उपाधिका हकदार थियौं । यहाँ फुटबलका भगवान छन्,जसले हाम्रो कडा परिश्रमलाई न्याय दिन्छन् । मेरो टोलीले आज गरेको प्रदर्शनमा मलाई गर्व छ । अब पनि लिग र अन्य प्रतियोगितामा पनि यही लयलाई निरन्तरता दिनुपर्छ ।’ गाटुसोको आगमनपछि स्वाभाविक लयमा फर्किएको नेपोली अहिले सिरी ‘ए’ को छैटांै स्थानमा छ । विश्वव्यापी महामारीको रूपमा रहेको कोरोना भाइरसका कारण तीन महिना रोकिएको सिरी ‘ए’ अर्को साता पुनः सुचारु हँुदै छ र नेपोली शीर्ष ४ मा बस्दै अर्को सिजनको च्याम्पियन्स लिगमा छनोट हुने लक्ष्यमा छ ।

यता गत डिसेम्बरमा लाजियोलाई इटालियन सुपर कपको उपाधि सुम्पिएको युभेन्ट्स पुनः एक पटक निराश बन्न पुग्यो । ‘हामीले निराशाजनक प्रदर्शन ग¥यौं । समर्थकलाई दुखी बनायौं,’ युभेन्ट्सका प्रशिक्षक माउरिसियो सारीले भने, ‘हामीले स्वाभाविक लय गुमाएजस्तो देखियो ।’ युभेन्ट्सले गत साता सेमिफाइनल पहिलो लेगमा एसी मिलानविरुद्ध पनि गोलरहित बराबरी खेलेको थियो ।



from Nagarik News - Home
Previous Post Next Post