भारतबाट फर्केर आएका राप्तीसोनारी गाउँपालिका–१ कुसुमका विवेक बस्नेतको केही दिनअघि आरडिटी जाँच गर्दा पोजेटिभ देखियो। विश्व स्वास्थ्य संगठनको नियमअनुसार २४ घण्टाभित्रमा उनको स्वाब संकलन गरी पिसिआर परीक्षण गर्नुपथ्र्यो, तर १० दिनपछि मात्र उनको पिसिआर परीक्षण गरियो।

पिसिआर रिपोर्ट नेगेटिभ त आयो। तर उनले १० दिनसम्म अनेकौं तनावको सामना गर्नुप-यो। ‘आरडिटी रिपोर्ट पोजेटिभ आएपछि समयमै पिसिआर परीक्षण भएन, जसले गर्दा धेरै तनाव खेप्नुप-यो,’ विवेकले भने।

बाँकेमा पिसिआर परीक्षणको गति यसरी नै कछुवा गतिमा चलिरहेको छ। समयमै पिसिआर परीक्षण नहुँदा क्वारेन्टिनमा बसेका व्यक्तिले अनेकौं तनाव झेल्नुपरेको छ। कोरोना भाइरसको महामारी बढ्दै गए पनि पिसिआर परीक्षणको गति भने सुस्त चलिरहेको छ। पिसिआर परीक्षणका लागि भेरी अस्पताल नेपालगन्जमा मात्र प्रयोगशाला सञ्चालनमा छ। उक्त प्रयोगशालामा बाँकेसहित बर्दिया, प्युठान, रोल्पा, रुकुमलगायत जिल्लाबाट ल्याइएको स्वाब परीक्षण गरिन्छ, जसले गर्दा स्वाब परीक्षणको गति कछुवाको चालमा चलेको हो। पिसिआर परीक्षणको गति सुस्त हुँदा सरकारलाई नागरिक स्तरबाट चौतर्फी दबाब दिइएको छ।

यता, आरडिटी परीक्षणपश्चात घर पठाइएका कतिपय व्यक्तिमा कोरोना पोजेटिभ देखिएको पाइएको छ। राप्तीसोनारी–८ का वडाअध्यक्ष खुमबहादुर बस्नेतसहित पाँच जना व्यक्ति यसकै उदाहारण हुन्। वडाध्यक्ष बस्नेतसहित क्वारेन्टिनमा बसिरहेका पाँच जनाको आरडिटी विधिमार्फत कोरोना परीक्षण गर्दा नेगेटिभ देखियो। रिपोर्ट नेगेटिभ देखिएपछि स्वास्थ्यकर्मीले घर जान सल्लाह दिए। त्यसको केहीबेर पछि आएको पिसिआर रिपोर्टमा भने कोरोना पोजेटिभ देखिएको थियो।

यस्ता विभिन्न घटनाक्रमले गर्दा बाँकेमा आरडिटी परीक्षण प्रति नै प्रश्न उठ्ने गरेको छ। ‘यस्तो महामारीका बेला सरकारले अर्बौ रकम खर्च गरेर ल्याएको स्वास्थ्य सामग्री तथा औषधिमाथि नै प्रश्नचिन्ह लाग्नु दुर्भाग्य हो,’ पत्रकार महासंघका पूर्वमहासचिव पोषण केसीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अब सरकारले नेपाली जनताको स्वास्थ्य माथिको खेलवाडलाई तत्काल बन्द गरी पिसिआर परीक्षणलाई व्यापक बनाउन जरुरी छ, अन्यथा अझै भयावह स्थिति आउन सक्ने सम्भावना प्रबल छ।’

समयमै पिसिआर परीक्षण नहुँदा क्वारेन्टिनमा बसेका व्यक्तिले अनेकौं तनाव झेल्नुपरेको छ।

यसैबीच, पिसिआर परीक्षणको गति बढाउनुपर्ने माग गर्दै नेपाली कांग्रेस कोहलपुर नगर समितिले ज्ञापन–पत्र बुझाएको छ। आरडिटी परीक्षण तत्काल बन्द गर्नुपर्ने र पिसिआर परीक्षणको गति बढाउनुपर्ने माग गर्दै ज्ञापन पत्र बुझाइएको नगर सभापति बलराम शर्माले बताए। महामारीको विषम परिस्थितिमा नेपाल सरकार र स्थानीय सरकार गम्भिर बन्नुपर्ने ज्ञापन–पत्रमा उल्लेख छ। स्वास्थ्य कार्यालय बाँकेका अनुसार शनिबारसम्म पाँच हजार आठ सय जनाको पिसिआर र सात हजार दुई सय व्यक्तिको आरडिटी विधिमार्फत कोरोना परीक्षण गरिएको छ। प्रयोगशालाको क्षमता भन्दाबढी स्वाब संकलन भएर आइरहेकाले समयमै रिपोर्ट सार्वजनिक गर्न कठिनाइ हुने गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङवाङ बताउँछन्।

भेरी अस्पतालमा दैनिक ८० देखि सयवटा सम्पन्न स्वाबको पिसिआर परीक्षण गरिन्छ। ‘ल्याबको क्षमताभन्दा धेरै स्याम्पल कलेक्सन भएर आइरहेको छ, जसले गर्दा समयमै रिपोर्ट दिन कठिनाई भइरहेको छ,’ प्रजिअ कुरुङवाङले भने।

स्वास्थ्य कार्यालय बाँकेका कोरोना रोग फोकल–पर्सन नरेश श्रेष्ठ पनि प्रयोगशालामा चाप बढेका कारण नतिजा ढिलो आउने गरेको बताउँछन्। ‘प्रयोगशालामा कामको चाप धेरै बढेको छ, तापनि छिटोभन्दा छिटो रिपोर्ट ल्याउने प्रयास गरिरहेका छौं,’ उनले भने। जिल्लाका विभिन्न स्थानीय तहमा पुगेर आरडिटी र पिसिआर परीक्षणको काम जारी राखिएको बताए। सरकारले नीतिगत रूपमा निर्णय नगर्दासम्म आफूहरूले आरडिटी विधिमार्फत कोरोना परीक्षणको काम जारी राख्ने फोकल पर्सन श्रेष्ठले बताए।

पोजेटिभ महिलाको सफल शल्यक्रिया

कोरोना पोजेटिभ एक महिलाको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा शल्यक्रिया गरिएको छ। कोरोना संक्रमित महिलाको शल्यक्रिया भएको यो दोस्रो पटक हो। यसअघि सोही अस्पतालमा अछामबाट आएकी एक संक्रमित महिलाको पनि आन्द्राको सफल शल्यक्रिया गरिएको थियो।

राजधानीबाहिर सम्भवतः पहिलो पटक संक्रमित महिलाको शल्यक्रिया सफलतापूर्वक गरिएको शिक्षण अस्पताल कोहलपुरले जनाएको छ। मेडिकल कलेजका सहायक निर्देशक डाक्टर नितेषकुमार कनोडियाका अनुसार कपिलवस्तु, कृष्णनगरकी २७ वर्षीया ती गर्भवतीको शनिबार बिहान सफल शल्यक्रिया गरिएको हो। शल्यक्रियाबाट संक्रमित महिलाले शिशु जन्माएकी हुन्। उनको शिशुको तौल दुई किलो चार सय ग्राम रहेको छ।

प्रसूति रोग विशेषज्ञ डाक्टर अमरेन्द्र कुशवाहा, डाक्टर कविता सिन्हा, बालरोग विशेषज्ञ डाक्टर राजेश केसी, एनेस्थेसियन डाक्टर रविन श्रेष्ठ, सहायक एनेस्थेसियन संगीता गिरी, नर्सद्वय सरस्वती श्रेष्ठ र पवित्रा बिष्टको टोलीले शल्यक्रिया गरेको अस्पतालले जनाएको छ। उनलाई रूपन्देहीको सिद्धार्थनगरस्थित भीम अस्पतालले कोहलपुर रेफर गरेपछि शिक्षण अस्पतालमा भर्ना भएकी थिइन्। भारतको मुम्बईबाट फर्केर आएकी उनलाई कोरोना संक्रमण देखिएको हो। क्वारेन्टाइनमा बसेको अवस्थामा पिसिआर परीक्षण गर्दा जेठ ३० कोरोना पोजेटिभ देखिएको थियो। आमा र शिशु दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।



from Nagarik News - Home
Previous Post Next Post