भारतीय क्रिकेटर अनिल कुम्बलेले कोरोना भाइरसको महामारीपछि टेस्ट क्रिकेटमा बल चम्काउन थुक प्रयोग गर्ने प्रावधानमाथिको प्रतिबन्ध फुकुवा हुने अपेक्षा गरेका छन् ।

टेस्ट क्रिकेटको क्रममा स्पिन बलिङ गर्ने क्रममा थुक प्रयोग गर्दै बल चम्किलो बनाउने गरिन्छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले आगामी साता यो प्रतिबन्ध फुकुवा गर्ने अपेक्षा लिइएको हो । टेस्ट क्रिकेटमा बललाई टर्न गर्नका लागि बलरले थुक लगाउने गरेका छन् । अस्ट्रेलियाका लागि मिचेल स्टार्कले बल टर्न गराउनका लागि तीव्र गतिका बलरले धेरै मिहिनेत गर्नुपर्ने बताए ।

तर भारतीय टेस्ट क्रिकेटका पूर्वखेलाडी तथा हाल अन्तर्राष्ट्रिय क्रिकेट परिषद्का अध्यक्ष अनिल कुम्बलेले यस प्रावधानलाई खुकुलो पार्ने बताएका हुन् ।

‘जमिनबाट बल हातमा लिएपछि खेलाडीले सफा गर्न पाउँछन् । स्पिनरले चम्किलो बनाउन आफ्नो अस्त्र प्रयोग गर्न सक्छन्,’ आइसिसीका अध्यक्षसमेत रहेका कुम्बलेले बुधबार एक अनलाइनलाई भने, ‘टेस्ट खेलमा स्पिनरलाई पुनर्जीवित गर्नुपर्यो । एकदिवसीय र ट्वान्टी–२० संरचनामा बल चम्काउने कामको प्रयोग हुँदैन ।’

पूर्व लेग स्पिनर कुम्बलेले टेस्ट क्रिकेटमा खेल रोमाञ्चक बनाउन स्पिनरको आगमन आवश्यक भएको प्रतिक्रिया दिएका हुन् । त्यसका लागि मैदानका कर्मचारीले स्पिनरका लागि आवश्यक पिच तयार पार्नुपर्ने धारणा व्यक्त गरे ।

‘जमिनबाट बल हातमा लिएपछि खेलाडीले सफा गर्न पाउँछन् । स्पिनरले चम्किलो बनाउन आफ्नो अस्त्र प्रयोग गर्न सक्छन् ।’

‘क्रिकेट मैदानमा बल र ब्याटको उत्तिकै समन्वय आवश्यक पर्छ । त्यसका लागि मैदानको पिचले धेरै अर्थ राख्ने गर्छ,’ कुम्बलेले थपे, ‘सबै हामी खेल सुचारु हुने विषयमा केन्द्रित हुन्छौं । बल कस्तो अवस्थामा हुन्छ भन्ने अड्कल हामीले गरेका हुन्नौं ।’

यसअघि भारतीय क्रिकेट टोलीका तीव्र गतिका बलर जसप्रीत बुमराहले थुकको सट्टा अन्य केही उपायलाई मान्यता दिनुपर्ने बताएका थिए भने स्पिनर मोहम्मद सामीले पसिना विकल्प नहुने धारणा जनाएका थिए । अस्ट्रेलियाको बल उत्पादक कम्पनी कोकाबुराले मैनयुक्त चम्किलो बल उत्पादन गर्ने तयारी गरिरहेको छ ।

तर कुम्बलेले बलमा प्रयोग गर्ने पदार्थले खेलको भावनालाई असर पार्ने बताए । त्यसको विकल्पमा आइसिसीले अध्ययन गरिरहेको प्रतिक्रिया दिए ।

विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसका कारण गत मार्चबाट अन्य खेलकुद गतिविधिजस्तै क्रिकेट पनि सञ्चालन हुन सकेको छैन । आइसिसीका विभिन्न तालिका स्थगित भएका छन् भने अहिलेसम्म आइसिसीले खेल फर्काउन पहलको प्रयास पनि गरेको छैन । स्वास्थ्य पहिलो प्राथमिकता भएकाले महामारी नियन्त्रण नभएसम्म कुनै पनि सामान्य प्रतियोगिता सञ्चालन गर्न कठिन हुने बताउँदै आएको छ । यद्यपि उच्च सतर्कता र बन्द रंगशालामा खेल सुचारु गर्दै क्रिकेट फर्काउने लक्ष्यमा आइसिसी छ ।



from Nagarik News - Home
Previous Post Next Post