टोलटोलमा मान्छे मार्ने राक्षस मारेको सम्झनामा आइतबार भक्तपुरमा घण्टाकर्ण चतुर्दशी पर्व मनाइँंदै छ। प्रत्येक वर्ष मनाइने घण्टाकर्ण पर्वलाई स्थानीय नेवार समुदाय गथांमुगः चह्रे भनेर बुझ्छन्।

विशेष गरी भक्तपुर नगरका टोलटोलका दोवाटो, चौबाटोमा नर्कट, छ्वाली, पराल, हाँंडी, नाङलोलगायतले बनाएको राक्षसरुपी गथांमुगको साँंझ दाहसंस्कार गरी पर्व मनाइने चलन छ। तर यसवर्ष घण्टाकर्ण बनाएर दाहसंस्कार गर्न नलगिने भएको छ।

कोभिड १९ का कारण सयौं मानिस एकैठाउँंमा जम्मा भएर पर्व नमनाउन भक्तपुर नगरपालिकाले गरेको अनुरोधपछि यो वर्ष घण्टाकर्ण बनाएर दाहसंस्कार गर्न नलगिने भएको हो।

कला संस्कृति भजन महागुथि भक्तपुरका संस्थापक अध्यक्ष डा इन्दुल केसीका अनुसार यो पर्व पर्वमा मात्रै सीमित नभई यससँंग वैज्ञानिक कारण पनि जोडिएको सुनाउँंछन्। रापाईपछि झारका कारण वढ्ने लामखुटे, भुसुनालाई आगो बालेर भगाउने बैज्ञानिक कारण यो पर्वसँंग जोडिएको उनी तर्क राख्छन्।

जिउभरि घण्टा झुण्डाएर बस्ने भएकाले उनको नाम घण्टासुर रहेको उनी प्रष्ट्याउँछन्।

पर्वको दिन आआफनो घरको ढोकामा किला ठोक्ने पनि गरेर सम्हे बजी (भोज) खाने चलन छ। पर्वका दिन बिहानै स्नान गरी घरलाई सफा सुग्घर गर्ने प्रचलन अहिले पनि छ।

घण्टाकर्ण चतुर्दशीका विषयमा एउटा प्रसिद्ध किम्बदन्तीसमेत रहेको छ। परापूर्व कालमा नेपालमा गथांमुग नाम गरेको एउटा नास्तिक थियो, जसलाई सत्य निष्ठामा रहेका मानिस मन पर्दैनथ्यो।

सत्य निष्ठामा रहेका मानिसलाई मारिदिन्थ्यो। दोबाटो चौबाटोमा बसेर जे पायो त्यही खाने र बाटो हिड्ने मानिससित जगात (पैसा) उठाउने यसको नियमित दिनचर्या हुन्थ्यो। पैसा नदिने मानिसलाई मारेर मासु खान्थ्यो, महिलालाई बलात्कार गथ्र्यो र राम्रा जतिलाई श्रीमती बनाउँथ्यो।

घण्टाकर्ण राक्षसको यस्ता क्रियाकलापबाट सबै मानिस आतङ्कित थिए। एकदिन भोकाएर निस्किएका बेला घण्टाकर्णको भेट भ्यागुतोसित भयो। घण्टाकर्णले भ्यागुतोसित मानव बस्ती कता छ भनी सोध्दा घण्टाकर्णको आतङ्कबाट पीडित भ्यागुतोले गहिरिएको हिलोबाटो देखाउँदै त्यतैबाट जान भन्यो।

अलिपर पुग्नासाथ घण्टाकर्ण गहिरो हिलोमा फस्यो। उसले आफ्नो विशालकाय शरीर बाहिर निकाल्न सेकेन। यही मौका छोपेर घण्टाकर्णबाट पीडित सबै मानिस जम्मा भएर ढुङ्गा, मुढा र लाठाले हिर्काएर मारिदिए।

यसरी नरभक्षी राक्षसबाट मानव जातिले मुक्ति पाए। मानवता विरोधी घण्टाकर्ण मारिएको दिन श्रावण कृष्ण चतुर्दशी परेकाले यस दिनलाई घण्टाकर्ण चतुर्दशी पनि भन्न थालिएको जनविश्वास छ। तर हिजोआज इतिहासविद्हरुले घण्टाकर्ण राक्षस नभई भगवान भएको तर्क पनि राख्न थालेका छन्।



from Nagarik News - Home
Previous Post Next Post