चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने सडक अझै खुलेको छैन। पहिरोका कारण सोमबार बिहानदेखि अवरुद्ध सडक सञ्चालनमा ल्याउन नसकिएको हो। स्याफ्रु–रसुवागढी सडक खण्डको कुलुङ क्षेत्रमा गएको पहिरो पन्छाउन नसकिएको अवस्थामा मंगलबार थप पाँच स्थानमा पहिरो झरेको छ।

जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार पासाङ ल्हामु मार्गको राम्चे धुन्चे खण्डमा २ वटा र स्याफ्रुबेसी–रसुवागढी सडक खण्डमा थप तीन स्थानमा पहिरो झरेको हो। स्याफ्रु–रसुवागढी सडक खण्डको तातोपानी र कुलुङ खोलाको बीचमा पनि थप पहिरो गएको हुनसक्ने प्रहरी नायव उपरीक्षक इन्द्रप्रसाद सुवेदीले बताए।

‘अहिलेसम्म आधा दर्जन स्थानमा पहिरो झरेको रिर्पोटिङ आएको छ,’ उनले भने, ‘कुलुङ र तातोपानी बीचमा मान्छे हिँडडुल गर्न नसकिने भएकाले त्यस स्थानमा पनि पहिरो गएको हुनसक्छ।’ पासाङ ल्हामु मार्गको राम्चे, ग्राङ तथा स्याफ्रु रसुवागढी खण्डको तातोपानी, टिमुरे, कुलुङ लगायतको क्षेत्रमा पहिरो गएको छ।



from Nagarik News - Home
Previous Post Next Post