२०२२ को युथ ओलम्पिक गेम्स आगामी २०२६ सम्मका लागि स्थगित भएको आयोजक सेनेगल र अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) ले बुधबार घोषणा गरेका छन्।

विश्वभर महामारीको रूप लिएको कोरोना (कोभिड–१९) भाइरसको कारण देखाउँदै युथ ओलम्पिक चार वर्ष पछि धकेलिएको हो। यसअघि जापानमा तय भएको टोकियो ओलम्पिक २०२० एक वर्ष पछिका लागि सारिसकिएको छ।

‘२०२२ को डाकार युथ ओलम्पिक गेम्स टोकियो ओलम्पिक सरेसँगै हुने सम्भावना टरेको छ। तयारीमा रहेका सम्बद्ध निकायले आगामी योजनालाई परिमार्जन गर्दै नयाँ तरिकाले अगाडि बढ्ने योजना बनाउनुपर्छ,’ आइओसी र सेनेगलले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘यस निर्णयले युवा खेलाडीमा नैराश्यता उत्पन्न भएको छ, तर खेललाई निखार्ने अवसर मिलेको छ।’

आइओसीका प्रमुख थोमस बाचले सेनेगेलका अध्यक्ष म्याकी साललाई समन्वय गरी काम गरेकोमा धन्यवाद दिए। ‘दुवैको समन्वयमा आगामी दिनमा युथ ओलम्पिक सम्पन्न गर्नेछौं। २०२६ का लागि सरेको प्रतियोगितालाई अझै भव्य र सभ्य पार्न जिम्मेवारी थपिएको छ,’ थोमस बाचले भने ।

प्रतियोगिता सरेपछि आयोजक आइओसी र नेसनल ओलम्पिक कमिटीहरूलाई प्रतियोगिताको तयारी गर्ने थप अवसर मिलेको हो। यस्तै सेनेगलका लागि पनि अझै राम्रो तयारी गर्ने अवसर मिलेको छ। सन् २०१८ मा आइओसीले सेनेगलमा २०२२ मा डकार युथ ओलम्पिक गर्ने निर्णय गरेको थियो। युथ ओलम्पिक गेम्समा संसारभरका १४ देखि १८ वर्षसम्मका खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।



from Nagarik News - Home
Previous Post Next Post