चितवनमा रहेका दुई ठूला नदीमा बुधबार पाँच जनाको शव फेला परेको छन्। जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार नारायणीमा चार र राप्ती नदीमा एक जनाको शव फेला परेको हो।

कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार वर्षा रोकिएर नदीको बहाव घटेसँगै बग्दै गरेको र किनारमा तैरिएको अवस्थामा शव भेटिएका हुन्। भरतपुर महानगरपालिका–१ ठिमुरामा दुई जनाको बेवारिसे शव फेला परेको छ। ती मध्ये एक जना अन्दाजी १५ वर्षीया किशोरी र अर्का ५५ वर्षीय एक पुरुष रहेको थापाले जानकारी दिए। ती शव सडेको अवस्थामा फेला परेका हुन्।

त्यस्तै भरतपुर महानगरपालिका–१६ बस्ने वर्ष ४० का सानो कान्छा भन्ने कर्णबहादुर सुनारको शव बुधबार फेला परेको छ। मङ्गलबारदेखि उनी बेपत्ता भएका थिए। उनको वडा नम्बर १६ कै झनझने भन्ने ठाउँमा शव भेटिएको हो। भरतपुरकै वडा नम्बर १ गैँडाचोकस्थित नारायणी किनारमा अन्दाजी ५० वर्षीया एक महिलाको शव फेला परेको छ। त्यस्तै पूर्वीचितवनको खैरहनी नगरपालिको बूढी राप्ती खोलामा बगाएर ल्याएको अन्दाजी ५० वर्षीय पुरुषको शव भेटिएको उहाँले जानकारी दिए। बग्दै गरेको शव देखिएपछि स्थानीय र प्रहरीले नदी बाहिर निकालेका थिए। एक जनाबाहेक अन्यको सनाखत हुन सकेको छैन।

विभिन्न ठाउँमा बगाएको वा पुरेको ठाउँबाट बाढीले शव बाहिर ल्याएको हुनसक्ने अनुमान गरिएको छ। शवको मुजुल्का गरेर परीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको छ।



from Nagarik News - Home
Previous Post Next Post