.jpg)
कृषिबाली नष्ट गर्ने सलह कीराको झुन्ड इलाममा पनि देखिएको छ। भारतीय सीमावर्ती सूर्याेदय नगरपालिका–१, तल्लो धजेमा बिहीबार दिउँसो सलह आइपुगेको हो। स्थानीय किसानका अनुसार बिहान १० बजेतिर किसान मेलामा निस्किँदा चिया, इस्कुस र मकैको बोटमा सलह कीरा देखिएको हो।
किसानहरू सुजन खतिवडा, लोकनाथ खतिवडा र चेतन ढकाललगायतको बालीमा सलह देखिएको स्थानीय शिक्षक पुण्य ढकालले बताए। ‘सलहले ४÷५ बोट चिया, इस्कुस र मकैको पात खाएको छ,’ उनले भने, ‘बालीनालीमा बस्नेबित्तिकै पात प्वाल पारिहाल्दोरहेछ, यसले बाली नष्ट गर्न धेरैबेर नलगाउने देखियो।’
तर, मान्छेको आवाज परैबाट सुन्नेबित्तिकै यो कीरा भाग्नेगरेको र चराचुरुंगीले समेत यसलाई खानेगरेको देखेको उनले सुनाए। शिक्षक ढकालका अनुसार सलहको यो झुन्ड देशको पश्चिमी क्षेत्रबाट नभई सीमावर्ती भारतको दार्जिलिङतिरबाट प्रवेश गरेको हुनसक्छ। ‘केही समयअघि छिमेकी दार्जिलिङमा सलह देखिएको थियो,’ उनले भने, ‘त्यहाँबाट रुङसुङ खोलाको किनारै किनार यता प्रवेश गरेको हुनसक्ने हाम्रो अनुमान छ।’
.jpg)
किसान सुजन खतिवडाले आफूहरूको मकैबारीमा यो कीरा आएर बसेको तर धेरै क्षति भने गर्न नभ्याएको बताए। ‘हाम्रो र छिमेकीको बालीनालीमा सलहले क्षति गर्न थालेको छ, बेलैमा नियन्त्रण गर्नु आवश्यक देखियो।’
सूर्याेदय–१ का वडा सचिव नवीन ढकालले बिहीबार गाउँमा सलह देखिएको तर शुक्रबार बिहान चाहिँ फेला नपरेको बताए। ‘मेरो घर पनि सलह देखिएकै गाउँमा हो, छिमेकीहरूले खिचेको फोटो, भिडियो हेर्दा गाउँमा सलह आएको थाहा भयो,’ उनले शुक्रबार बिहान भने, ‘अहिले म त्यही बारीमा घुम्दैछु, ठूलो क्षति गरिहालेको चाहिँ छैन तर यसबारे नगरपालिकाको कृषि शाखामा जानकारी गराएको छु।’
नगरको कृषि शाखा प्रमुख नारायण लम्सालले शाखाको टोलीले सम्बन्धित ठाउँमा पुगेर जानकारी लिने बताए। ‘आज बिहानसम्म त हामीलाई त्यसबारे सूचना थिएन,’ उनले भने, ‘आजै त्यहाँ पुगेर जानकारी लिन्छौं।’
from Nagarik News - Home