
बेनी–जोमसोम खण्डमा बाढीपहिरो र कालीगण्डकी नदीको कटाने अवरुद्द भएपछि शनिबारदेखि मर्मतको काम सुरू भएको छ। म्याग्दीको बेनीदेखि मुस्ताङको जोमसोम जोड्ने सडक अन्र्तरगत म्याग्दीखण्डमा मात्र करिब आधा दर्जन बढी स्थानमा पहिरो र नदीको कटानले सडक तहसनहस भएको थियो। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानादेखि मुस्ताङको थासाङ गाउँपालिका–४ मा कालिगण्डकी नदीले कटान गरेपछि सडकको नै भत्किएपछि आवतजावतमा समस्या भएको छ।
नदी कटानले अवरुद्द भएको सडक मर्मतको काम सुरू गरिएको स्थानीय इन्द्रसिंह शेरचनले बताए। उक्त सडक खण्डमा नेपाली सेनाको टोलीले मर्मतको सुरु गरेको छ। दुबै जिल्लाको सीमानामा पर्ने काभ्रेभिरमा धेरै क्षती पुगेपछि मर्मतको काम सुरू गरिएको मुस्ताङबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसद प्रेमप्रसाद तुलाचन बताए। ‘नियमित सञ्चालनमा धेरै समस्या हुने देखिएको छ,’ उनले भने, ‘सडक भत्किएको ठाउँमा मर्मतको काम सुरु गर्छौं।’
बाढीपहिरो र कटानले क्षति गरेको स्थानमा सांसद तुलाचन, प्रमुख जिल्ला अधिकारी बेदप्रसाद अर्याललगायतको टोलीले अनुगमन समेत गरेको छ। ७९ किलोमिटर सडक खण्ड अन्तर्गत बाढीले गलेश्वरको बेलिब्रिजमा समेत क्षती गरेको छ, भने अन्नपूर्ण–३ दानाको खामभित्ता, गुइठेभिर, दवाडी खोलामा जमिन भाँसिएको छ। माथिबाट खसेको पहिरोले सडक अवरुद्द भएको छ।
गलेश्वरको बेलिब्रिजलाई मर्मत गरेर पुरानै ठाउँबाट सञ्चालनमा ल्याउने तयारी भइरहेको म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बताए। ‘एकसाताभित्र सञ्चालनमा ल्याउँछांै,’ उनले भने। त्यहीँ नजिकै अर्को पक्की पुल समेत निर्माणधिन अवस्थामा रहेकाले भत्किएको पुललाई अस्थायी रूपमा सञ्चालनमा ल्याउने बताइएको छ। पुल मर्मतपछि परिक्षण गरेर मात्रै सञ्चालन गर्ने तयारी भइरहेको छ। गत असार २५ गते राहुघाट नदीमा आएको बाढीले कटान गर्दा पुल भत्किएको थियो।
लगातारको वर्षा, भिरालो जमिन, कमजोर भूगोलमा बेनी–जोमसोम–कोरला खण्ड स्तरोन्नति भइरहेपनि यात्रुले हरेक वर्ष बर्खाको समयमा सास्ती झल्नुपर्ने बाध्यता छ। मुस्ताङ पुग्ने एकमात्र स्थलमार्ग एवं गण्डकी प्रदेशको ‘लाइफलाइन’का रूपमा रहेको सडक जोमसोम हुँदै चीनको तिब्बतको सीमानालाई जोड्न स्तरोन्नती र कालोपत्रे गर्ने काम बन्द भएको छ।
सडक भासिँदा ज्यान गुम्यो
उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३, दानाको गुइठेभीरमा सडक भाँसिदा निर्माण साम्रगी बोकेको ट्रिपरसँगै चालक कालिगण्डकी नदीमा खसेर चालकको मृत्यु भएको थियो। अन्नपूर्ण गाउँपालिका–६ घारमा निर्माणधिन अवस्थामा रहेको १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजनामा बा२ख ३४२५ नम्बरको ट्रिपर खसेपछि मंगला गाउँपालिका–५ छिस्वाङ घर भएका चालक २७ वर्षीय ज्ञानबहादुर पुन मृत्यु भएको थियो। उनको शव रातोपानीमा फेला परेको थियो।
तलबाट नदीको कटान बढ्दै जाने र माथिबाट पहिरो खस्ने क्रमले बर्खाको समयमा सडकमा सवारीसाधन तथा पैदलयात्रुलाई आवतजावतमा समस्या हुने गरेको छ ।
from Nagarik News - Home