पेरिस सेन्ट जर्मन (पिएसजी) का प्रशिक्षक थोमस टुचेलले लियोनल मेसीलाई स्वागत गर्न तयार रहे पनि उनले बार्सिलोना छोड्ने सम्भावना न्यून रहेको बताएका छन्।

‘कुन प्रशिक्षकले मेसी क्लबमा आउँछु भन्दा हुँदैन भन्छ ?,’ टुचेलले भने, ‘मेसीले बार्सिलोनामै खेलजीवनमा पूर्णविराम लगाउँछन् होला। उनी मिस्टर बार्सिलोना हुन्।’

च्याम्पियन्स लिग क्वार्टरफाइनलमा बायर्न म्युनिखसँग ८–२ को लज्जास्पद हार बेहोरेसँगै ३३ वर्षे मेसीले क्याम्प नोउ छोड्ने चर्चा चुलिएको थियो।

बार्सिलोनाका सर्वकालीन गोलकर्ता मेसीले क्लबका लागि ७ सय ३१ खेलमा ६ सय ६४ गोल गरेका छन्। ४ पटक च्याम्पियन्स लिग उपाधि र ६ पटक बालोन डी’अर विजेता मेसीले १० पटक स्पेनिस ला लिगाको उपाधि जितेका छन्।

‘हामीले अहिले खेलाडी भित्र्याउने विषयमा हतारिएर कुनै पनि कदम चाल्दैनौं,’ टुचेलले भने, ‘हामी यही टोलीलाई निरन्तरता दिन चाहन्छौं। तर थियागो सिल्भा र इरिक माक्सिम चौपो मोटिङको भने सम्झौता सकिएकाले उनीहरूलाई यस सिजनबाट हामीले गुमाउने सम्भावना धेरै छ। हामी टोली थप बलियो पार्न चाहन्छाैं। फ्रेन्च लिगको नयाँ सिजन सुरुआत भइसकेको छ। त्यसैले हामीसँग विश्रामको पनि धेरै समय छैन। टोली नयाँ रणनीतिका साथ अघि बढ्छ।’

पिएसजीले पछिल्लो ८ सिजनमा ७ पटक लिग वानको उपाधि जितेको छ। तर पहिलो पटक च्याम्पियन्स लिगको फाइनल स्थान बनाए पनि टोलीले उपाधि खडेरी भने तोड्न सकेन।

पिएसजीले सिजनको पहिलो खेलमा शनिबार लेन्ससँग खेल्नेछ।



from Nagarik News - Home
Previous Post Next Post