.jpg)
म्यानचेस्टर युनाइटेडका कप्तान ह्यारी म्याग्वेरले प्रहरी अधिकारीमाथि दुर्व्यवहार गरेको, घुस दिन खोजेको भन्दै ग्रिसको अदालतले मंगलबार २१ महिना १० दिनको जेल सजाय सुनाएको छ ।
यस सजायसँगै उनी कम्तीमा ३ वर्षका लागि फुटबल गतिविधिबाट निलम्बित हुने लगभग निश्चित भएको छ । इङ्ल्यान्ड राष्ट्रिय टोलीका सदस्यसमेत रहेका म्याग्वेरले अदालतको निर्णयविरुद्ध अपिल गर्ने जनाएका छन् । बिहीबार मेकोन्सको रात्रि क्बलमा झगडा गरेको आरोपमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रहरीले उनीमाथि दुर्व्यवहार र घुस दिन खोजेको अरोपमा मुद्दा दर्ता गराएको थियो । तर उनले भने सबै आरोप निराधार रहेको बताउँदै आएका छन् भने सुनाइएको निर्णयमा अपिल गर्ने जनाएका हुन् ।
‘आजको निर्णयपछि मैले मेरो कानुनी सल्लाहकारलाई अदालतसमक्ष अपिल गर्न लागेको सन्देश पठाइसकेको छु,’ म्याग्वेरले भने, ‘मेरो मनोबल गिरेको छैन र म यस घटनामा निर्दोष छु । यस घटनामा म, मेरो परिवार र साथीहरू चपेटामा परेका छन् ।’
यता उनी आबद्ध प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले पनि म्याग्वेर निर्दोष भएको भन्दै उनको साथमा रहेको प्रतिक्रिया जनाएको छ । ‘म्याग्वेर निर्दोष छन्, उनलाई नियोजित रूपमा फसाउन खोजिएको छ,’ युनाइटेडले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हामी सधंै उनको साथमा छौं ।’ म्याग्वेरको घटना बाहिरिएसँगै इङ्ल्यान्ड राष्ट्रिय टोलीले नेसन्स कपअन्तर्गत आइसल्यान्ड र डेनमार्कविरुद्धको खेलका लागि घोषणा गरेको टोलीमा म्याग्वेरलाई टोलीमा समावेश गरेको छैन । प्रशिक्षक साउथगेटले ग्रिस अदालतबाट निर्णय आएपछि उनलाई टोलीबाट हटाएका हुन् ।
from Nagarik News - Home