विश्व नम्बर एक नोभाक जोकोभिचले शनिबार एटिपी वेस्टर्न एन्ड साउथर्न ओपनको उपाधि उचाल्दै सोमबारदेखि सुरु हुने ग्रान्ड स्लाममा पनि आफ्नो दाबेदारी प्रस्तुत गरेका छन्।

एक सेटमा पछि परेको स्थिति उल्टाउँदै जोकोभिचले क्यानडाका मिलोस राओनिचमाथि जित निकालेसँगै युएस ओपनमा पनि आफ्नो दाबेदारी प्रस्तुत गरेका हुन्। बिल्ली जिन किङ नेसनल टेनिस सेन्टरमा भएको फाइनलमा जोकोभिचले रोओनिचमाथि १–६, ६–३ र ६–४ को जित निकालेका थिए, सोही मैदानमा कोरोना भाइरस महामारीपश्चात् पहिलो पटक हुन लागेको ग्रान्ड स्लाम युएस ओपन सञ्चालन हुनेछ। ३३ वर्षे सर्बियन स्टार जोकोभिचले करियरको ८०औं उपाधि उचाल्दै युएस ओपन पनि यादगार बनाउने संकेत गरेका छन्।

रोओनिचविरुद्धको जितसँगै जोकोभिच यस सिजन लगातार २३औं जित निकाल्न सफल भएका छन्। ‘यो जित निकाल्न त्यति सम्भव थिएन, पछिल्ला तीन–चार दिन भने मेरा लागि झनै कठिन थिए,’ जोकोभिचले भने, ‘त्यो मानसिक र भावनात्मक रूपमा पनि चुनौतीपूर्ण थियो। कठिन अवस्थामा पनि प्रतिस्पर्धा गर्न सकें र उपाधि उचाल्न सफल भएँ।’ उनले शारीरिक रूपमा केही समस्या आए पनि फिजियोथेरापीको मद्दतबाट सेमिफाइनलमा तीन–चार घण्टाको प्रतिस्पर्धा गर्न सफल भएको बताए।

३३ वर्षे सर्बियन स्टार जोकोभिचले करियरको ८०औं उपाधि उचाल्दै युएस ओपन पनि यादगार बनाउने संकेत गरेका छन्।

‘सुरुआती चरणमा केही सुस्त रह्यो, तर पनि राम्रो गर्न सफल भएँ,’ जोकोभिचले भने, ‘मिलोस फर्ममा थिए। उनको सर्भिस रकेटजस्तो तीव्र थियो, जुन फर्काउन निकै कठिन भयो।’ जोकोभिचले चौथो युएस ओपन र करियरको १८औं ग्रान्ड स्लाम उचाल्न लक्ष्यअनुरूप सोमबार बोस्निया एन्ड हर्जगोभिनाका दामिर जुमहुरविरुद्ध चुनौती प्रस्तुत गर्नेछन्। यता, दुई पटक अस्ट्रेलियन ओपन च्याम्पियन भिक्टोरिया अजरिन्काले बिनाप्रतिस्पर्धा डब्लुटिएको उपाधि उचाल्ने अवसर पाइन्।

जापानकी नाओमी ओसाकाले ह्यामस्ट्रिङ समस्याका कारण फाइनल खेल त्यागेपछि भिक्टोरियाले वेस्टर्न एन्ड साउथर्न ओपनको उपाधि उचाल्ने अवसर पाइन्। ‘यो तरिकाले हामी कोही पनि उपाधि जित्न चाहदैनौं,’ भिक्टोरियाले भनिन्, ‘यो समय विश्वभरि नै समस्या भइरहेको छ। तर हामी यहाँ छौं र उत्कृष्ट गर्ने प्रयास रहनेछ।’ भिक्टोरियाले सन् २०१६ मा मियामी ओपन जितेपछि र आमा बनेपछि पहिलो पटक उपाधि जितिन्। प्राय जसो युएस ओपन सिनसिनाटी खेल्ने मैदानमा हुने थियो। तर कोभिड–१९ का कारण न्युयोर्कको नेसनल टेनिस सेन्टरमा सारिएको थियो।



from Nagarik News - Home
Previous Post Next Post