
फ्रान्सेली मिडफिल्डर पाउल पोग्बाका एजेन्ट मिनो राइओलाले पोग्बालाई म्यानचेस्टर युनाइटेडले तत्काल नबेच्ने भन्दै सम्झौता नवीकरण प्रक्रिया अघि बढिसकेको बताएका छन्।
पोग्बालाई सन् २०१६ मा युनाइटेडले युभेन्ट्सबाट ८९ मिलियन युरोमा अनुबन्धित गरेको थियो। गत सिजन चोटका कारण अधिकांश समय बेन्चमा बसेका पोग्बाले यस सिजन भने प्रभावशाली प्रदर्शन गर्दै युनाइटेडलाई प्रिमियर लिगको तेस्रो स्थानमा राख्दै अर्को सिजनको च्याम्पियन्स लिगमा छनोट गराएका थिए।
‘पोग्बाका लागि युनाइटेडले कुनै प्रस्ताव स्वीकार गर्दैन,’ राइओलाले भने, ‘नयाँ सम्झौताका लागि छिट्टै प्रक्रिया अघि बढ्नेछ। यसमा धेरै गम्भीर नबनौं। उनी युनाइटेडका महत्वपूर्ण खेलाडी हुन्। युनाइटेडसँग महत्वपूर्ण योजना छ र उनी त्यसको महत्वपूर्ण पात्र हुनेमा कुनै शंका छैन।’
युनाइटेडमा पोग्बाको सम्झौता आगामी समरसम्म रहेको छ। उनले कोरोना भाइरस महामारीका कारण प्रिमियर लिग रोकिनुअघि सबैखाले प्रतियोगिता गरी मात्र ८ खेल खेलेका थिए। तर लिग रोकिएसँगै उनले कुर्कुच्चाको चोटबाट समेत मुक्त हुने अवसर पाए। सिजन पुनरागमन भएपछि उनले १४ खेल खेल्दै प्रभावशाली प्रदर्शनमा युनाइटेडलाई युरोपा लिगको अन्तिम ४ मा पु-याउनसमेत भूमिका खेलेका थिए।
from Nagarik News - Home