नेपालमा मंगलबार हालसम्मकै धेरै संख्यामा कोरोना संक्रमण पुष्टि भएको छ । गत २४ घन्टाभित्र देशभरिमा १ हजार १६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कुल संक्रमित संख्या २८ हजार २ सय ५७ पुगेको छ । यीमध्ये १० हजार ५ सय ६३ जना सक्रिय संक्रमित छन् ।

संक्रमितको संख्या बढेसँगै मृत्यु हुनेको संख्या पनि वृद्धि भएको छ । पछिल्लो २४ घण्टामा थप सातजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काभे्र, नवलपरासी, मोरङ, धनुषा, बाँके र कास्कीका एकएक पुरुष र तनहुँकी एक महिला छन् । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय १४ पुगेको छ ।

कुल संक्रमित मध्ये हालसम्म १७ हजार ५ सय ८० जना निको भइसकेका छन् । गत २४ घण्टामा ८५ जना निको भएर घर फर्के । कुल सक्रिय संक्रमितमध्ये २ हजार ८ सय ८७ जना होम आइसोलेसनमा छन् भने ६ हजार २ सय ५२ जना संस्थागत आइसोलेसनमा छन् । वाग्मती प्रदेशमा आठजनाको भेन्टिलेटरमा उपचार भइरहेको र सबै प्रदेशमा गरी आइसियुमा १ सय १८ जनाको उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मंगलबार सबैभन्दा बढी प्रदेश २ मा ४ सय २१ जना र वाग्मती प्रदेशमा ३ सय १३ जना संक्रमित भेटिएका छन् । त्यसैगरी प्रदेश १ मा १ सय ४५ र कर्णालीमा १ सय १० जना संक्रमण पुष्टि भएको छ । जिल्लागत रूपमा हेर्दा सबैभन्दा बढी काठमाडौंमा १ सय ३८, पर्सामा १ सय २८, मोरङमा १ सय ८, सर्लाहीमा १ सय ७ र धनुषामा ६४ जना संक्रमित थपिएका छन् । त्यसैगरी बारामा ४२ जना थपिएका छन् । काठमाडौं उपत्यकामा २ सय ५ जनामा संक्रमण पुष्टि भएकोमा ललितपुरका ५० र भक्तपुरका १७ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । उपत्यकामा संक्रमितको संख्या २ हजार २ सय ७२ पुगेको छ । गत २४ घण्टामा १३ हजार ४ सय ६१ वटा नमुना पिसिआर विधिबाट परीक्षण भएको थियो । योसहित नेपालमा ५ लाख ८२ हजार ८ सय ६६ जनाको परीक्षण भइसकेको छ ।

एटिएम प्रयोगपछि स्यानिटाइजर दल्न सुझाव
कोरोना भाइरस बैंकको एटिएम प्रयोग गर्दा पनि सर्ने भएकाले एटिएम प्रयोगपछि हातमा सेनिटाइजर दल्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सुझाव दिएका छन् । बैंकलाई पनि बेलाबेलमा एटिएम मेसिन निसंक्रमण गर्न उनले अनुरोध गरे ।



from Nagarik News - Home
Previous Post Next Post