करिब दुई साताअघि सर्वोच्च अदालतले सवारीसाधनको ‘इम्बोस्ड नम्बर प्लेट’मा अंग्रेजी भाषा राख्नेगरी फैसला गरेका कारण नेपाली भाषा थप जोखिममा परेको भन्दै सरोकारवाललाले चिन्ता व्यक्त गरेका छन्। मातृभूभि, भाषा र मौलिकतालाई उच्च स्थानमा राखेर काम गर्ने निकायले नै यस्तो फैसला गरेपछि विवाद सिर्जना भएको हो। देशको मौलिक पहिचान, परम्परा र संस्कृतिसँग जोडिएको नेपाली भाषालाई सरकारी कामकाजमा प्रयोगमा ल्याउनबाट बञ्चित गरिँदा यसले नकारात्मक असर पार्नसक्ने भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका हुन्।

अंग्रेजी भाषालाई मान्यता दिँदै नेपाली भाषाप्रति बेवास्ता गर्दै भएको उक्त फैसलाविरुद्ध भाषाविद्, इतिहासकार, संस्कृतिविद्, पूर्वन्यायाधीश, कानुन क्षेत्रका जानकारलगायतले विरोध गरेका छन्। उनीहरूले सर्वोच्चले गरेको फैसला पुनरवलोकन गरी बदर हुनुपर्ने माग राखेका छन्। संस्कृतिविद् तथा प्राध्यापक केशल निरौलाले न्यायिक निकायले यस्तो फैसला गर्दै त्यसले मौलिक भाषाप्रति ठूलो धक्का परेको बताए। उनले भने, ‘कुनै पनि मुलुकमा आफ्नो भाषालाई उच्च प्राथमिकता दिइन्छ, तर हाम्रो देशमा आफ्नौ भाषालाई बेवास्ता गरिएको छ, त्यतिधेरै सवारीसाधनमा हाम्रो भाषा नहुँदा के हुन्छ ?’ उनले यो विषयमा सरकारी निकायले जानकारसँग कुनै सल्लाह नगरेको र आफूखुसी यस्तो निर्णय लागु गर्न लागेको बताए।

भाषा बचाऊ अभियानका अभियन्ता एवं अधिवक्ता रामेश्वर राउतले आफ्नो भाषा बेवास्ता गरेर भएको फैसलाले नेपाली मौलिकतामा ठेस लागेको बताए। उनले यो फैसला सर्वोच्चले तुरुन्तै उल्ट्याउन आवश्यक रहेको पनि जिकिर गरे। ‘आफ्नो राष्ट्रिय भाषाविरुद्ध न्यायालयले जुन फैसला गरेको छ, यसले राम्रो गर्दैन,’ उनले भने।

भाषाविद् शरदचन्द्र वस्तीले नेपाली भाषालाई यसरी बेवास्ता गर्न नहुने बताए। उनले भने अंग्रेजीमा लेख्नुपर्ने भए पनि त्यसमा नेपाली भाषा छुटाउन नहुने जानकारी दिए। उनले भने, ‘हामीले हाम्रो भाषालाई यसरी निमोठ्नु हुन्न, राम्रोकै लागि हो भने नेपाली अक्षरमा पनि केही लेखिनुपर्छ, अंगे्रजी मात्रै राख्नुहुन्न।’ उनले सरकारी कार्यालयले नै नेपाली भाषा बिगारेको आरोप लगाए। सरकारी कार्यालयहरूले सही तरीकाले प्रयोग नगर्दा नेपाली भाषाको मर्यादा खस्कँदै गएको बताए। प्रज्ञा र त्रिवि नै भाषा भत्काउनेतर्फ लागेको उनको आरोप छ।

सर्वोच्चको फैसलापछि इम्बोस्ड नम्बर प्लेटमा अंगेजी अक्षर राख्ने तयारी सरकारले गरिरहेको छ। तर, त्यसको सर्वत्र विरोध भने कायमै छ। आफ्नो मौलिक भाषाको बेवास्ता गर्दै अंग्रेजी भाषा प्रयोगको निर्णय भएपछि भाषा तथा र संस्कृतिप्रेमीले शनिबार हनुमानढोकास्थित कालभैरव मन्दिर परिसरमा पुगेर यसको विरोध गरेका थिए। उनीहरूले न्यायालयले फैसला उल्ट्याउनुपर्ने भन्दै कालभैरवको पूजा गरेका थिए। सरकारले गत वर्षको भदौमा इम्बोस्ड नम्बर प्लेटको उद्घाटन गरेको थियो।



from Nagarik News - Home
Previous Post Next Post