बजार खुल्यो। सार्वजनिक यातायात खुल्यो। लामो तथा छोटो दूरीको यातायात बिहीबारदेखि खुल्यो। हवाई सेवासमेत खुलाउने निर्णय भइसक्यो। आन्तरिक तथा बाह्य हवाई सेवा दुई–चार दिनबाटै सुरु हुनेछ। तर सरकारले खेलकुद क्षेत्र खुलाउने तर्फ ध्यान दिएको छैन।

स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद नारा छ। तर खेलकुद क्षेत्र उपेक्षामा छ। पूर्वअर्थमन्त्री एवं प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा.युवराज खतिवडाले निर्माणाधीन पोखरा रंगशाला फुटबल मैदानको अवलोकन गर्दै खेलकुद क्षेत्र प्राथमिकताभित्र नपर्ने उद्घोष गरेका थिए। उनले त्यति बेला खेलकुद मानवीय जीवनको नैसर्गिक अधिकारभित्र नपर्ने स्पष्ट पारेका थिए।

कोरोना कहर झन्झन् बढ्दै गएको छ। भौतिक दूरी कायम गर्दै आफैं सचेत बन्नुपर्ने अवस्था छ। स्वास्थ्यप्रति संवदेनशील हुनुपर्ने प्रदेश सरकारको भनाइ छ, ‘कोरोनाको कहरमा दुईखाले समस्या छन्। पहिलो कोरोनाबाट आमनागरिकलाई जोगाउने र अर्को भोकमरीबाट जोगाउने।’ गण्डकी प्रदेश सामाजिक विकास मन्त्री नरदेवी पुनले भनिन्, ‘बजार खुल्यो। यातायात खुल्यो। अब बिस्तारै खेलकुद क्षेत्र पनि खुल्छ।’ खेलकुद क्षेत्र अहिले नै यकिनका साथ यति बेलादेखि खुल्छ भन्न सकिने अवस्था छैन।

‘पोखरा रंगशालाभित्रको होल्डिङ सेन्टर हटाएर निर्मलीकरण गरेपछि मात्रै व्यवस्थित रूपमा रंगशाला प्रशिक्षणका लागि खुला गर्नुपर्छ। होल्डिङ सेन्टरकै कारण खेलाडीमा त्रास बढेको छ।’

बजार क्षेत्र र सार्वजनिक यातायात खुलेपछि पोखरा रंगशाला फुटबल मैदान निर्माणको कामले निरन्तरता पाउने अपेक्षा गरिएको छ। साथै लामो समयसम्म प्रशिक्षण गर्न नपाएका खेलाडीले भौतिक दूरी कायम गरेर भए पनि प्रशिक्षण गर्न पाउने वातावरण मिलाउनुपर्ने आवाज पनि उठिरहेको छ। पोखरा रंगशाला फुटबल मैदान निर्माणाधीन अवस्थासँगै रंगशालाभित्रको बहुउद्देश्यीय कभर्ड हल ‘होल्डिङ सेन्टर’ समेत रहेकाले त्रास बढेको छ।

‘राज्यले खेलकुद क्षेत्रलाई उपेक्षा गरेको छ। त्यसैले पनि खेलकुद क्षेत्र खुलाउने तर्फ चासो र गम्भीरता देखाएको छैन,’ राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्य सम्पन्न श्रेष्ठले भने, ‘खेलकुदलाई राज्यले महत्वपूर्ण विषयको रूपमा लिएको छैन। त्यसले गर्दा पनि खेलकुद क्षेत्र तत्कालै खुल्ने अवस्था देखिँदैन।’ स्वास्थ्यका लागि खेलकुद भन्ने नाराअनुसार राज्यले खेलकुदलाई महत्वको विषयवस्तुभित्र राखिनुपर्नेमा उनको जोड थियो। ‘राज्यको महŒवको विषयवस्तुभित्र खेलकुद परेन,’ उनको भनाइ थियो।

पोखरा रंगशालासँगै फुटसल, जिमहललगायत सबै बन्द छन्। खेलकुद क्षेत्र पूर्ण रूपमा ठप्प हुँदा खेलाडीलाई घरमै बसेर शारीरिक व्यायाम गर्नुपर्ने बाध्यता छ। प्रशिक्षण गर्न नपाउँदा समस्या छ। खेलकुद क्षेत्रमा सुरक्षा अपनाएर खुलाउनुपर्नेमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ कास्कीले जोड दिएको छ। ‘पोखरा रंगशालाभित्रको होल्डिङ सेन्टर हटाएर निर्मलीकरण गरेपछि मात्रै व्यवस्थित रूपमा रंगशाला प्रशिक्षणका लागि खुला गर्नुपर्छ,’ संघका उपाध्यक्ष राजन पौडेलले भने, ‘होल्डिङ सेन्टरकै कारण खेलाडीमा त्रास बढेको छ।’



from Nagarik News - Home
Previous Post Next Post