राष्ट्रिय सभा सदस्यमा राष्ट्रपतिबाट मनोनीत एक पद खाली भएको सोमबार ६ महिना पूरा भएको छ। गत फागुन २० गतेदेखि राष्ट्रिय सभामा राष्ट्रपतिबाट मनोनीत एक सिट खाली रहेको छ। ५९ सदस्यीय राष्ट्रिय सभामा एक सिट पूरा नहुँदा ५८ सदस्य मात्र कायम छन्। जसले सो सभालाई अपूर्ण बनाएको हो।

नेकपाको सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने निर्णय गरेको छ। संविधानले राष्ट्रिय सभालाई स्थायी प्रकृतिको सदनको रुपमा कल्पना गरेको छ। यो सदनले प्रतिनिधिसभाले कानुन निर्माणमा गरेका त्रुटि पहिल्याउने र नयाँनयाँ विचार दिने काम पनि गर्छ। प्रदेश सभाका सदस्य, स्थानीय तहका प्रमुख र उपप्रमुख रहेको निर्वाचक मण्डलद्वारा प्रत्येक प्रदेशबाट कम्तीमा तीन जना महिला, एक जना दलित र एक जना अपांगता भएका व्यक्ति वा अल्पसंख्यकसहित आठजना गरी निर्वाचित ५६ जना र नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत कम्तीमा एक जना महिलासहित तीन जना गरी राष्ट्रिय सभामा ५९ सदस्य रहने व्यवस्था छ।



from Nagarik News - Home
Previous Post Next Post