मानिसले अत्याधिक रूपमा वन र वातावरण नष्ट गरिरहेका छन् । एउटा नयाँ रिपोर्टकाअनुसार संसारभर जीवजन्तुहरूको जनसंख्या यति ठूलो दरले घटेको छ । पाँच दशकमा मानिसहरूका कारण स्तनधारी, उभयचर, सरिसृप, चराचुरुगीं र माछालगायत संसारभर करिब ७० प्रतिशत जीवजन्तुको संख्या घटेको विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ)को ‘लिभिङ प्लानेट रिपोर्ट २०२०’ ले जनाएको छ ।

डब्लुडब्लुएफको उक्त रिपोर्टअनुसार प्रदुषण, वनविनाश र जलवायु परिवर्तनलगायतका कारण सन् १९७० देखि सन् २०१६ सम्म स्तनधारी, उभयचर, सरिसृप, चराचुरुगीं र माछाको संख्यामा ६८ प्रतिशत घटेको हो । सन् १९७० यता ४४ सय प्रजातिका करिब २१ हजार स्तनधारी, उभयचर, सरिसृप, चराचुरुगीं र माछाको संख्यामा ६८ प्रतिशत घटेको रिर्पोटमा उल्लेख छ । सबैभन्दा बढी ल्याटिन अमेरिकामा ९४ प्रतिशतले जीवजन्तुको संख्या घटेको छ । त्यसपछि क्यारिबियनमा ८४ प्रतिशत, अफ्रिकामा ६५ प्रतिशत, एशिया प्यासिफिकमा ४५ प्रतिशत, उत्तर अमेरिका र युरोप तथा मध्य एशियामा २४ प्रतिशतले जीवजन्तुको संख्या घटेको रिपोर्टमा उल्लेख गरिएको छ ।

हरेक दुई वर्षमा डब्लुडब्लुएफले जारी गर्ने रिपोर्टमा जीवजन्तु घट्दै जाँदा जैविक विविधतामा पर्ने प्रभाव समेत समावेश गरिएको छ । जीवजन्तुको संख्या घट्नुले मानव र प्राकृतिक संसारबीचको सम्बन्ध मौलिक रूपमा टुक्रिएको संकेत गरेको छ । जसले गर्दा कोरोना भाइरस महामारी जस्ता विनाशकारी स्थिति निम्याएको छ । जीवजन्तुको बासस्थान मानिएको सिमसार क्षेत्र ८५ प्रतिशतले घटेको छ । स्तनधारी, उभयचर, सरिसृपको संख्यामा भारी मात्रामा गिरावट आउनुको कारण समुन्द्र सतहमा बढेको प्रदुषण, मानवीय गतिविधि, विकास निर्माण र जमिनको स्वरूप परिवर्तनलाई मानिएको छ ।

जंगलमा लगाइने डढेलो, समुद्रमा अत्याधिक मात्रामा भइरहेको माछा मार्ने गतिविधि तथा वन क्षेत्र विनाश गरिँदा जीवजन्तुको संख्या तीव्र गतिमा घटिरहेको देखिएको छ।

डब्लुडब्लुएफ नेपालका प्रमुख डा. घनश्याम गुरुङ युरोप र अमेरिकामा प्रतिशतका हिसाबले सुरुआतदेखि पूर्वाधारको धेरै विकास भएकाले तत्कालीन समयमा जीवजन्तुको प्राकृतिक बासस्थानमा क्षति पुगेको थियो । कृषिका लागि रिन फरेस्टलगायत विनाश भइएको हुँदा युरोप, मध्य एशिया, उत्तरी अमेरिका, ल्याटिन अमेरिका र क्यारिबियनका जैविक विविधतामा असर परेकाले जीवजन्तुको संख्या घटेको हो । कृषिका लागि विश्वव्यापी ८० प्रतिशत विश्वव्यापी वन फँडानी र ७० प्रतिशत पानीको उपयोग भइरहेको छ ।

उत्तर अमेरिकामा ५२.५ प्रतिशत जमिन समुन्द्री तथा कृषिको उपयोगले बासस्थान नोक्सान भएको छ, भने युरोप र मध्य एशियामा ५७.९, ल्याटिन अमेरिकामा ५१.२, अफ्रिकामा ४५.९ र एशिया प्यासिफिकमा ४३ प्रतिशत रहेको छ । जैविक विविधता विनाशले एक लाख प्रजाति (पाँच लाख जनावर र बोटबिरुवाहरू र पाँच लाख किराफट्यांग्रा लोप हुने खतरा बढेको हुँदा यिनीहरूको संरक्षण आवश्यक रहेको छ ।

जंगलमा लगाइने डढेलो, समुद्रमा अत्याधिक मात्रामा भइरहेको माछा मार्ने गतिविधि तथा वन क्षेत्र विनाश गरिँदा जीवजन्तुको संख्या तीव्र गतिमा घटिरहेको डब्लुडब्लुएफकी प्रमुख कार्यकारी तान्या स्टिलले बताएकी छन् । ‘हामीले हाम्रो विश्वलाई टुक्र्याइरहेका छौं । जसलाई हामी हाम्रो घर भन्छौं । हाम्रो स्वास्थ्य जोखिममा पारेका छौं । पृथ्वीमा हाम्रो सुरक्षा र सुरक्षालाई खतरामा पारेका छौं । अहिले प्रकृतिले हामीलाई आफ्नो बचाउका लागि गुहार लगाइरहेकी छन् ।’



from Nagarik News - Home
Previous Post Next Post