बायर्न म्युनिखका मिडफिल्डर थियागो एलकान्टराले आफूले क्लब छाड्ने निर्णयमा पुगिसकेको चर्चा अस्वीकार गरेका छन्। पछिल्ला समय थियागोले बुन्डेसलिगा क्लब छाड्ने मनसाय बनाएको र क्लबसँग पनि छलफल भइरहेको समाचार सार्वजनिक भएपछि उनले त्यसलाई अस्वीकार गरेका हुन्।

बायर्नलाई यसै सिजनको च्याम्पियन्स लिग उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका २९ वर्षे थियागोको सन् २०२१ मा क्लबसँगको सम्झौता सकिँदै थियो र उनी पनि सम्झौता नवीकरण नगर्ने पक्षमा पुगेको चर्चा चल्दै आइरहेको थियो। स्पेनिस स्टार थियागोमाथि युरोपका ठूला क्लबले नै अनुबन्धनको प्रयास गरिरहेको दाबी आइरहेका थिए। प्रिमियर लिग च्याम्पियन लिभरपुलले पनि आफ्नो टोलीलाई थप बलियो बनाउँदै उपाधि रक्षा गर्न थियागोलाई भित्र्याउने लक्ष्य राखेको समाचार सार्वजनिक भएका थिए। साथै म्यानचेस्टर युनाइटेडले पनि उनीप्रति चासो राखेको दाबी आएका थिए। तथापि, यी सबै दाबीका बावजुद थियागोले एलियान्ज एरिना क्लबसँगको सात वर्षे यात्रा टुङ्ग्याउनेबारे कहिल्यै पनि बायर्नसँग कुराकानी नभएको बताएका छन्।

बायर्नकै प्रमुख काई हान्ज रुमेनिगलाई उद्धृत गर्दै एक रिपोर्टले थियागोले क्लब छाड्ने मनसाय बनाएको समाचार बाहिरिएको थियो। उनी २९ मिलियन युरोमा लिभरपुल जाने चर्चा चलेको थियो। ‘मैले क्लब छाड्नेबारे केही पनि भनेको छैन,’ थियागोले भने, ‘हरेक वर्ष मलाई फरक टिमसँग जोडेर चर्चा आइरहन्छ। म यो हल्लाको पछाडि लाग्दिनँ र खेलप्रति मात्र केन्द्रित रहन चाहन्छु।’ हाल नेसन्स लिगमा स्पेनबाट खेलिरहेका थियागोले बायर्न आफ्नो घर भएको र आफू त्यहाँ निकै खुसी रहेको बताएका छन्।



from Nagarik News - Home
Previous Post Next Post