
एस्टन भिल्लाले ब्रेन्टफोर्डका स्ट्राइकर ओलेई वाट्किन्सलाई क्लबको कीर्तिमानी २८ मिलियन पाउन्डमा अनुबन्धित गरेको छ।
वाट्किन्स गत सिजन संयुक्त रूपमा च्याम्पियनसिपको सर्वाधिक गोलकर्ता थिए। उनले २६ गोल गरेका थिए। २४ वर्षे वाट्किन्स नयाँ सिजनका लागि भिल्लाले अनुबन्धित गरेका दोस्रा खेलाडी हुन्। यसअघि भिल्लाले नटिङ्घम फरेस्टका रक्षक म्याटी क्यासलाई भित्र्याएको थियो।
‘ओलेई अहिलेका सबैभन्दा प्रतिभावान् स्ट्राइकर हुन्,’ भिल्लाका प्रशिक्षक डिन स्मिथले भने, ‘उनले एस्टन भिल्लामा नयाँ सिजन आफ्नो क्षमता प्रमाणित गर्नेमा हामी आशावादी छौं।’
स्मिथले नै ब्रेन्टफोर्डको प्रशिक्षक हुँदा वाट्किन्सलाई एक्सटरबाट अनुबन्धित गरेका थिए।
‘म एस्टन भिल्लामा आबद्ध हुन पाउँदा म हर्षित छु र डिन स्मिथको प्रशिक्षणमा पुनः खेल्न पाउँदा भाग्यमानी सम्झन्छु,’ वाट्किन्सले भने, ‘म मेरो क्षमता प्रमाणित गर्दैै क्लबलाई सहयोग गर्न चाहन्छु।’
from Nagarik News - Home