
पछिल्लोसमय कोरोना संक्रमित थपिँदै आएको वीरगन्जमा १ सय ७० बेडको अर्को कोरोना विषेश अस्पताल थपिएको छ । अहिलेसम्म एउटा ५० र अर्को १०० गरी जम्मा डेढ सय बेड क्षमताको २ वटा कोरोना विशेष अस्पतालले मुस्किलले धानिएको थियो ।
वीरगन्जस्थित नेसनल मेडिकल कलेज शिषण अस्पतालले आफ्नो स्वामित्वमा लिएको पुरानो बाबा इन्टरनेसनल होटलको नगवास्थित भवनमा तयार गरेको कोरोना विशेष अस्पताल सञ्चालनमा ल्याएको हो । जिल्ला संकट व्यवस्थापन केन्द्रको भदौ १० को सिफारिसअनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भदौ १२ मा यसको निर्णय र सम्झौता गरेपछि यो कोरोना विशेष अस्पताल तयार भएको पर्साका प्रमुख जिल्ला अधिकारी आसमन तामाङ्गले बताए । आइसियु र आकस्मिक कक्षलगायतका सुविधासहितको १ सय ७० बेडको अस्पताल अहिले तयारी अवस्थामा रहेको र कुनै पनि बेला सञ्चालनमा ल्याउन सकिने प्रमुख जिल्ला अधिकारी तामाङ्गले नागरिकलाई बताए ।
यसैबीच शुक्रबार नेसनल मेडिकल कलेज अस्थायी कोरोना अस्पताल उद्घाटन गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत रेहेको स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन एकाइको स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रले भदौ १२ कोभिड–१९ अस्पतालको रुपमा नेसनल मेडिकल कलेजलाई सूचीकृत गरेको छ । केन्द्र र अस्पतालबीचको सम्झौतापछि नेसनल मेडिकल कलेजले भेंडियाहीस्थित बाबा इन्टरनेसनलको संरचनालाई कोरोना अस्पतालमा रुपान्तरण गरेको छ । ‘हामीले अहिले १ सय ७० बेडको कोरोना अस्पताल तयार गरेको भए पनि आवश्यक्ता हेरेर यसलाई ३ सय क्षमताको बनाउन सकिन्छ,’ नेसनल मेडिकल कलेजका प्रबन्ध निर्देशक बसरुदीन अन्सारीले भने, ‘दक्ष चिकित्सको टिम त्यसको लागि हामीले खटाएका छौं ।’
अन्सारीले केन्द्र सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय माहतको यो कोरोना अस्पताल हुने बताए । वीरगन्जमा कोरोना संक्रमितको संख्या घट्दो क्रममा रहेको बेला यहाँस्थित वीरगन्ज हेल्थकेयर अस्पतालमा बनाइएको अस्थायि कोरोना अस्पताललाई पुनः जनरल अस्पताल बनाउन त्यसका सञ्चालकले माग गरेका छन् । यस्तो बेलामा यहाँ नेसनल मेडिकल कलेजले कोरोना अस्पताल उद्घाटन गरेको हो ।
from Nagarik News - Home