
इङ्लिस चौथो श्रेणीको टोली लिग टु क्लब क्याम्ब्रिज युनाइटेडबाट इटालियन सिरी ‘ए’ क्लब एएस रोमामा अनुबन्धित भएसँगै एमबुन्या आलेमान्जीले सम्हालिएको प्रदर्शन गर्ने बताएका छन् ।
१६ वर्षे स्ट्राइकर आलेमान्जीलाई रोमाले ३ वर्षका लागि अनुबन्धित गरेको हो । सम्झौताअनुसार रोमाले लिग टु क्लब क्याम्ब्रिज युनाइटेडलाई ७० हजार युरो तिर्नुपर्नेछ । यद्यपि आलेमान्जी तत्कालका लागि भने रोमाको यु–१७ टोलीबाट खेल्नेछन् ।
‘यो ठूलो सम्झौता हो तर म रोमाले मलाई भित्र्याउनुको कारण प्रमाणित गरेर देखाउन चाहान्छु,’ आलेमान्जीले भने, ‘मलाई मेरा साथीहरूले भन्न थालेका छन्, ‘के तिमीलाई थाहा छ अहिले तिमी एएस रोमामा छौ ? म धैर्यताका साथ आफ्नो क्षमता प्रमाणित गर्न चाहन्छु ।’
जर्मनीमा जन्मिए पनि आलेमान्जी अभिभावकसँग तीन वर्षको उमेरमा इङ्ल्यान्ड आएका थिए ।
आलेमान्जी १३ वर्षको उमेरमा ६ साताको ट्रायलपछि क्याम्ब्रिज युनाइटेडमा अनुबन्धित भएका थिए । रोमामा सरुवा हुनुअघि आलेमान्जी क्याम्ब्रिजको यु–१६ का साथै यु–१८ टोलीबाट समेत खेल्दै आएका छन् ।
‘लकडाउनको समयमा मेरा एजेन्टले रोमाका खेलकुद निर्देशकलाई मेरो खेलको भिडियो पठाउनुका साथै उनीसँग सम्पर्क गरेका थिए,’ आलेमान्जीले भने, ‘मैले यति छिट्टै ठूलो क्लबबाट खेल्ने अवसर पाउँछु भन्ने सोचेको थिइनँ । त्यसको एक सातापछि मलाई रोमाका निर्देशकले सम्पर्क गरेका थिए । उनले मलाई दुई साताभित्र रोमा भ्रमण गर्न निम्त्याएका थिए । मलाई अझै यो सम्झौतामा विश्वास लागिरहेको छैन तर अन्तत मैले सम्झौता भने गरिसकें ।’
सम्झौताअनुसार उनी एक वर्ष क्लब एकेडेमीमा हुनेछन् । अन्तिम दुई वर्षमा भने उनले सिनियर टोलीमा डेब्युको अवसर पाउनेछन् ।
‘म अहिले कोभिड टेस्टका लागि कोठाबाहिर आएको छु । मैले चेल्सीका पूर्वविंगर पेड्रोलाई पनि त्यहाँ देखें,’ उनले भने, ‘म अचम्मित भएँ ।’
from Nagarik News - Home