गाउँपालिकामा कोरोना संक्रमण पुष्टि भएकाहरू निको भए । क्वारेन्टिन पनि खाली भए । यसपछि गुल्मीको चन्द्रकोट गाउँपालिका कोरोनामुक्त भएको ठानियो । तर, त्यसलाई थप पुष्टि गर्न समुदाय तहमा गरिएको कोरोना परीक्षणले भने अवस्था त्यस्तो देखाएन । जनप्रतिनिधि, बैंकमा काम गर्ने कर्मचारी र सर्वसाधारण नागरिकमा समेत कोरोना देखियो ।

भदौ ६ गते समुदाय तहका २७ जनाको स्वाब संकलन गरिएको थियो । सोमबार आएको नतिजामा तीन वडाअध्यक्षसहित ७ जनामा कोरोना संक्रमण पुष्टि भएपछि समुदाय तहमा कोरोना फैलिएको पुष्टि भएको हो । ‘हामी त अब सामान्य स्थितिमा पुग्यौं भन्ने ठानेका थियौैं, तर वडाअध्यक्ष, बैंकका कर्मचारीमा समेत कोरोना पुष्टि भएको छ, यसले कोरोनाले थप जटिलता थपेको छ,’ गाउँपालिकाका अध्यक्ष द्रोणबहादुर खत्रीले नागरिकसँग भने । उनका अनुसार शुक्रबारदेखि गाउँपालिका सिल गरिएको छ । गाउँपालिकाका वडा न. ४, ७ र ८ का वडाअध्यक्षसहित ७ जना अहिले होम आइसोलेसनमा छन् । यसअघि विदेशबाट आएका २४ जनामा कोरोना संक्रमण देखिएको थियो । ‘उनीहरू निको भएर घर फर्किए, अब स्थिति सहज होला भनेको झनै असहज हुँदैछ,’ गाउँपालिका अध्यक्ष खत्रीले भने । उनका अनुसार दसैंका लागि भनेर भारतसहित विदेशबाट गाउँ आउने क्रम बढेकाले कोरोनाको जोखिम थप चुलिएको छ ।

समुदाय तहमा कोरोना संक्रमण बढ्न थालेपछि जिल्ला प्रवेशमा कडाइ गरिएको गुल्मीका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बताए । दसैंका लागि नेपालभित्र र बाहिरबाट जिल्ला भित्रिने क्रम बढ्ने भएकाले १० दिन क्वारेन्टिन बस्नुपर्ने वा पिसिआर रिर्पोट नेगेटिभ भएको प्रमाण देखाउने नियम लागु गरिएको प्रजिअ शर्माले बताए ।

गत भदौ १२ गते पाल्पामा गाउँमै बस्ने एक महिलाको कोरोना संक्रमणकै कारण मृत्यु भएको छ । तानसेन नगरपालिका–८ मदनपोखराकी ३० वर्षीया महिलाको पाल्पाको लुीम्बनी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले गाउँमै बस्ने र धर्मकर्ममा लाग्ने महिलालाई समुदायबाटै कोरोना संक्रमण भएको बताए । उनका अनुसार पाल्पामा सुमदाय तहमा कोरोना संक्रमण फैलिँदै गएको छ । तानसेन नगरपालिकासहित, रामपुर नगरपालिका, रम्भा र तिनाउ गाउँपालिकामा समुदायस्तरमा कोरोना पुष्टि भएको पन्थीले बताए । बुटवलमा कोरोनाको संक्रमण बढेसँगै पाल्पा स्वभाविक जोखिममा परेको उनले बताए । बुटवलसँग जोडिएको पाल्पाको तिनाउ गाउँपालिकामा केहि दिनअघि मात्रै समुदाय तहका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ‘दोभान क्षेत्रमा समुदायमा कोरोना फैलिएको छ, हामीले कन्ट्याक ट्रेसिङलाई बढाएका पनि छौं,’ तिनाउ गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तीले भने । उनका अनुसार १ सय ५ जनाको स्वाब संकलन गरी प्रयोगशालमा पठाइएको र त्यसको रिर्पोटपछि थप जोखिमबारे विश्लेषण गर्न सकिने छ ।

‘कोरोनाले तराई अव्यस्थित हुन थाल्यो, त्यसको असर पाल्पामा देखिन थालिसक्यो,’ जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी पन्थीले भने । उनका अनुसार दसैंमा विदेशबाट नेपालीहरू स्वदेश फर्किनेक्रम सुरु भएकाले यसले थप गाउँ असुरक्षित बनाउने निश्चित देखिएको छ । स्थानीय पालिका र जिल्ला प्रशासनले लकडाउन कडा गरेको बताए पनि नागरिकहरू भने गाउँमा सहजै गइरहेका छन् ।

अर्घाखाँचीमा भारतमा रोजगारीमा रहेकाहरू चाडपर्वलाई लक्षित गरेर भित्रिने क्रम सुरु भइसकेको छ । ‘स्वदेशभित्र र विदेशबाट गाउँ फर्किनेक्रम सुरु भएको छ, यसको व्यवस्थापन अब चुनौतीपूर्ण बनेको छ,’ अर्घाखाँचीका सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी विक्रम थापाले भने । जिल्लामा कर्मचारी, स्वास्थ्यकर्मी, क्वारेन्टिनमा बसेका र केही व्यापारीमा कोरोना संक्रमण देखिएको छ ।

समुदायस्तरमा क्रमशः कोरोना संक्रमण फैलदो क्रममा छ । प्रदेश ५ का प्यूठान, रोल्पामा पनि समुदाय तहमा कोरोना संक्रमण भुसको आगो जस्तै गरि फैलदै गएको छ । स्वास्थ्य कार्यालय प्यूठानका सूचना अधिकारी पुष्कलकुमार श्रेष्ठका अनुसार समुदायतमा कोरोना फैलदै गएको छ । रुकुम पूर्वमा भने कोरोनाको संक्रमण न्यून छ । प्रदेश ५ स्वास्थ्य निर्देशनालयका अनुसार पाल्पामा १७, गुल्मीमा ३९, प्यूठानमा ४०, रोल्पामा ५, रुकुम पूर्वमा १ जना सक्रिया कोरोना संक्रमित छन् । प्रदेश ५ का १२ वटै जिल्लामा भने बिहीबारसम्म सक्रिय संक्रमित १ हजार ४ सय ९४ जना छन् ।

निगरानी कम लापरबाही उस्तै
गाउँ सुरक्षित भएको भनेर सहरिया दृष्टिकोण बनिरहेको बेला ‘तेस्रो लहर’ भने पहाडी क्षेत्रमा हुनसक्ने देखिएको छ । रोजगारीका सिलसिलामा भारत सहितका तेस्रो मुलुकमा गएकाहरू पुन: नेपाल आउनेक्रम सुरु भएको छ । स्वदेशभित्रका कोरोना संक्रमण व्यपाक रूपमा फैलिएका क्षेत्रबाट समेत दसैंका लागि गाउँ फर्कनेक्रम समेत सुरु भएकाले यसले गाउँमा तेस्रो लहरका रूपमा कोरोना भित्रिन जोखिम देखिएको हो । गाउँमा कन्ट्याक ट्रेसिङ र होम आइसोलेसनमा बसेकाहरूको निगरानी हुन सकेको छैन । बिनालक्षणका संक्रमित होम आइसोलेसनमा बस्दा लापरवाही हुने गरेको छ । प्रदेश ५ मा पछिल्लो तथ्यांकअनुसार होम आइसोलेसनमा बस्नेको संख्या बढ्दै गएको छ । समुदाय तहमा कोरोना संक्रमण पुष्टि भएपछि ‘होम आइसोलेसन’मा राख्ने गरिएको हो ।

स्थानीय पालिकाले नै निगरानी गरेको भए पनि भोगौलिक रूपमा समेत विकट भएका क्षेत्रमा निगरानी भने पुग्न सकेको छैन । स्थानीय तहले आइसोलेसन सेन्टर निर्माण गरे पनि त्यो पर्याप्त छैन । समुदाय तहमा कोरोना संक्रमण फैलदै गए पनि यसको परीक्षणमै समस्या भइरहेको चन्द्रकोट गाउँपालिका गुल्मीका अध्यक्ष द्रोणबहादुर खत्रीले बताए । पिसिआर परीक्षणको रिर्पोट आउन ढिलाइ हुँदा गाउँमा समस्या थपिएको छ ।



from Nagarik News - Home
Previous Post Next Post