
सुनसरीको बराहक्षेत्रमा ‘टिकटक’ प्रतियोगिताको आयोजना हुने भएको छ। सदाबहार मिडिया प्रालि बराहक्षेत्रले प्रथम, दोस्रो र तेस्रो हुनेलाई क्रमशः एक लाख ५० हजार, एक लाख र ५० हजार पुरस्कार राखेर टिकटक प्रतियोगिता गर्न लागेको हो। ‘राष्ट्रिय टिकटक स्टार प्रतियोगिता’ नाम दिएर सुरु गरिएको प्रतियोगिताका लागि भदौ १३ गतेबाट आवेदन खुला गरिएको थियो। भदौ २८ गतेसम्म आवेदन लिइने प्रतियोगिताका संयोजक देव भट्टराईले बताए।
प्रतियोगिताको पहिलो चरणमा सम्पूर्ण प्रतियोगीमध्येबाट भिडियोमा आएको भ्युजको आधारमा उत्कृष्ट एक सय जना छनोट गरिनेछ। दोस्रो चरणमा एक सय जनाबाट भिडियोमा आएको भ्युजको आधारमा उत्कृष्ट २० जनाको छनोट गरिनेछ। त्यसपछि क्रमशः पाँचौं चरणसम्म एसएमएस र खल्ती एपबाट भोटिङको आधारमा उत्कृष्ट १५, १०, ५, ३ र फाइनल गरी बिजेता घोेषण गरिने संयोजक भट्टराईले बताए।
नियमअनुसार प्रतियोगी प्रत्येक नयाँ चरणमा प्रवेश गर्दा नयाँ भिडियो पठाउनु पर्नेछ। टप २० प्रतियोगीबाट भने भोटिङ्का आधारमा क्रमशः १५, १०, ५, ३ र अन्तमा बिजेताको टुंगो लगाउने आयोजक संस्थाका किरण चौलागाईले बताए। प्रतियोगितामा सहभागी हुन एक सय रुपैयाँ शुल्क निर्धारण गरिएको छ। उक्त शुल्क अनलाइन माध्यम खल्ती एप्स र इ–सेवाबाट मात्रै बुझाउने व्यवस्था रहेको छ। प्रतियोगीले नेपाली भाषामा बनाएको भिडियो मात्रै समावेश गर्नुपर्ने उनले बताए। टिकटक भिडियो १० सेकेण्डको भन्दा लामो हुनुपर्ने आयोजकले बताएको छ।
from Nagarik News - Home