कोरोना महामारीका कारण समस्यामा परेका उद्योगी, व्यवसायीका लागि पुनर्कर्जामा आवेदन गर्ने म्याद थप गरिएको छ। सोमबार नेपाल राष्ट्र बैंकले पुनर्कर्जाका लागि आवेदन दिने म्याद थप गरेको हो। राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई पुनर्कर्जाका लागि आवेदन दिने म्याद असोज ३० गतेसम्म थप गर्न निर्देशन दिएको जनाएको छ।

राष्ट्र बैंकले भदौ १ देखि कोरोना महामारीले समस्यामा परेका उद्योगी, व्यवसायीसँग पुर्नकर्जाका लागि आवेदन माग गरेको थियो। पहिलो सूचनाको म्याद असोज १४ सम्म तोकिएको थियो।

यसअवधिमा लकडाउन र निषेधाज्ञा कायमै रहँदा आवेदन दिन समस्या परेको गुनासो आएपछि म्याद थप गरिएको बताइएको छ। राष्ट्र बैंकले कोरोना महामारीका कारण आर्थिक समस्यामा परेका साना र मझौला उद्योगी, व्यवसायीलाई लक्षित गरी मौद्रिक नीतिमार्फत पुनर्कर्जा कोषको पाँच गुणासम्म सहुलियत दरमा कर्जा प्रवाह गर्ने व्यवस्था मिलाएको छ।

सोही नीति अनुसार आवेदन दिने क्रम सकिएपछि बैंक तथा वित्तीय संस्थाहरूले करिब दुई खर्ब रूपैयाँ कर्जा प्रवाह गर्नेछन्। जसले गर्दा आर्थिक संकट भोगिरहेका व्यवसायीलाई सहज हुनेछ।



from Nagarik News - Home
Previous Post Next Post