अष्ट्रेलियाविरुद्धको तीन खेलको टी ट्वान्टी सिरिज इंग्ल्यान्डले जितेको छ। आइतबार भएको दोस्रो खेलमा अष्ट्रेलियालाई सहजै ६ विकेटले पराजित गर्दै इंग्ल्यान्डले एक खेल अगावै सिरिज २–० ले जितेको हो।

साउथह्याम्पटनमा अष्ट्रेलियाले दिएको १ सय ५८ रनको लक्ष्य इंग्ल्यान्डले १८ ओभर ५ बलमा मात्र ४ विकेट गुमाएर पुरा गर्यो। इंग्ल्यान्डलाई जीत दिलाउन जोस बट्लरले अविजित रहदै ७७ रनको म्यान अफ दि म्याच पारी खेले। यस्तै डाविड मालनले ४२ रन जोड्दा मोइन अली १३ रनमा अविजित रहे। अष्ट्रेलियाका लागि एस्टन अगरले २ तथा मिचेल स्टार्क र एडम जाम्पाले समान १ विकेट लिए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले खराब सुरुवात गर्दै २० ओभरमा ७ विकेट गुमाएर १ सय ५७ रन मात्र बनाउन सक्यो।

अष्ट्रेलियाका लागि कप्तान आरोन फिन्चले सर्वाधिक ४० तथा मार्कुस स्टोनिसले ३५ रन बनाएका थिए।

इंग्ल्यान्डका क्रिस जोर्डनले २ विकेट लिदा जोफ्रा आर्चर,मार्क उड र आदिल राशिदको नाममा एक एक विकेट रह्यो। यो जितसँगै तीन खेलको सिरिजमा इंग्ल्यान्डले २–० को अग्रता बनाएको छ। पहिलो खेलमा इंग्ल्यान्डले अष्ट्रेलियामाथि २ रनको जित निकालेको थियो। अब दुई टिमबीचको तेस्रो तथा अन्तिम खेल मंगलबार हुनेछ। यदि इंग्ल्यान्डले यो सिरिज क्लिन स्वीप गरेमा बरियतामा पहिलो नम्बरमा रहेको अष्ट्रेलियालाइ उछिन्दै पहिलो हुने छ।

अष्ट्रेलियाले टी–ट्वान्टी सिरिजपछि इंग्ल्यान्डसँग एकदिवसीय सिरिज खेल्नेछ। एकदिवसीय सिरिज सेप्टेम्बर ११ बाट सुरु हुनेछ।



from Nagarik News - Home
Previous Post Next Post