कमल अर्याल

मन केही अतालिएका बेला

भविष्य कतै अलमलिएका बेला

अरू सबै भागेर टाढा जाँदा पनि

तिमी भने नजिकै आएपछि

के दिनु शुभकामनाका शब्दहरू

तर हरेक बिहानीले भनिरहेछन्

यो अत्यासलाग्दो निशा सकिएपछि

फेरि उदाउला सूर्य लाली लिएर

साँझ झिसमिसेमा फर्किएला छोरा

अनि फेरि मुस्काउलिन् बूढी आमा

परदेशी छोराको टाउको मुसार्दै

मास्ककै दबदबा त कति चल्ला र

एक दिन त खुल्लान बैंशालु यौवनाहरू

सौन्दर्यपूर्ण अनुहार लिएर

फेरि भरिएलान् फेवाका डुंगामा मान्छे

त्यसैले केही पल प्रतीक्षा गरौं

आउलान् फेरि साथीहरूसँग जिस्किँदै

क्याफेमा गफ्फा मारेर कफी खाने दिनहरू

झोला बोकेर स्कुल जाने नानीहरूको

फेरि फर्किएला मिठो मुस्कान ओंठमा

त्यसैले विश्वास रहिरह्यो भने

फेरि बल्नेछन् आशाका दियोहरू

त्यसैले शरद् ऋतुको माटोको बासनासँगै

रोपिएका छन् जौका बीउहरू

र ती बढ्नेछन् हलक्क पोहर जस्तै

जसरी नयाँ दिनको आशामा

बढिरहेछन् सपनाहरू।



from Nagarik News - Home
Previous Post Next Post