प्रदेश १ को मन्त्रीपरिषद्को बैठकले प्रदेशमा अस्थायी कर्मचारी नियुक्ति गर्ने बाटो खुल्ला गरेको छ। शुक्रबार वेलुका बसेको मन्त्रीपरिषद्को बैठकले उद्योग, पर्यटन, वन तथा वातारवरण मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालयले अस्थायी कर्मचारी नियुक्तीका लागि राखेको प्रस्ताव स्वीकृत गरेसँगै अस्थायी कर्मचारी नियुक्त गर्ने बाटो खुलेको हो।
मन्त्रीपरिषद्को बैठकको निर्णय सार्वजनिक गर्दै प्रदेश १ को सरकारका प्रबक्ता आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालयले माग गरेबमोजिमको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको जानकारी दिए। कार्कीका अनुसार मन्त्रीपरिषद्को बैठकले प्रदेश निर्वाचनक्षेत्र विशेष कार्यक्रम सञ्चालनसम्बन्धी कार्यविधी र निर्वाचन क्षेत्र पूर्वाधार विकास सञ्चालन नियमावलीलाई संसोधन गर्ने निर्णय गरेको छ।
यस्तै खानेपानी तथा सरसफाई डिभिजन कार्यालय ५ वटाबाट बढाएर ७ वटा पु¥याउने निर्णय पनि मन्त्रीपरिषद्को बैठकले गरेको छ। कार्कीका अनुसार खोटाङ र भोजपुरमा खानेपानी तथा सरसफाई डिभिजन कार्यालय थप गरिने छ। यस्तै कोरोना नियन्त्रणमा खर्च बढेका कारण सरकारको बजेट संतुलनमा राख्न चालु आर्थिक वर्ष ०७७÷७८को बजेट व्यवस्थापन गर्ने निर्णय पनि मन्त्रीपरिषद्को बैठकले गरेको छ। यस्तै कोरोनाको महामारीकावीच आइरहेका चाडवाड मनाउने मापदण्डका विषयमा सरकारले केहि दिनभित्रै सार्वजनिक अपिल गर्ने पनि कार्कीले जानकारी दिए।
from Nagarik News - Home