२० असोज, काठमाडौं । कोरोना संक्रमण पुष्टि भएपछि तीन दिनसम्म अस्पतालमा बिताएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प निवासमै फर्किएका छन् । उनको उपचार अब विशेष निगरानीमा ह्वाइटहाउसमै हुने छ ।

वाल्टर रिड नेशनल मिलिट्री मेडिकल सेन्टरबाट विदा हुँदै गर्दा ट्रम्पले छिट्टै राष्ट्रपति पदको चुनाव प्रचार सुरु गर्ने बताए ।

ट्रम्पको उपचारमा संलग्न चिकित्सकका अनुसार उनी पूर्णरुपमा ठीक भइसकेका छैनन् । यद्यपि उनको स्वास्थ्य सुधारोन्मुख रहेको ह्वाइट हाउसका चिकित्सक डा. सिन कोनले बताएका बीबीसीले जनाएको छ । भाइरस जिउँदो नरहेकाले उनीबाट अरुलाई कोरोना सर्ने सम्भावना नरहेको पनि उनले बताए ।

डिस्चार्ज हुनुअघि ट्वीट गर्दै ट्रम्पले भनेका छन्, ‘छिट्टै चुनाव प्रचार सुरु गर्छु, गलत समाचारले केबल गलत मत सर्भेक्षण देखाउँछ ।’

अमेरिकी राष्ट्रपति चुनाव सुरु हुनुअघि गरिएका मत सर्भेक्षणमा ट्रम्पभन्दा उनका प्रतिस्पर्धी जो बाइडेन लोकप्रिय रहेको देखाइएको छ, जसलाई ट्रम्पले गलत बताउँदै आएका छन् ।



from कोरोना भाइरस – Online Khabar
Previous Post Next Post