रोल्पा जिल्ला यतिबेला कोरोना संक्रमणको उच्च जोखिममा रहेको छ। जबरजस्ती विद्यालयहरु खोलिएका छन भने सामाजिक दूरी र अन्य सावधानीका कुनै उपाय अपनाइएका छैनन्। अस्पताल, बजार, बैंक, प्रहरी चारैतिर संक्रमणले आतंक फैलाएको छ। मानिसहरुले मास्क र सेनिटाइजरको प्रयोग गर्न छोडेका छन्। सरकारले संक्रमितलाई होम आइसोलेसनमा बस्न भनेको भन्दै जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकको निर्णयबाट जिल्लामा रहेको एक मात्र अस्थायी आइसोलेसन केन्द्र पनि बन्द गरिएको छ।

प्रहरीले आफ्ना कर्मचारी राख्नका लागि अलग्गै आइसोलेसन केन्द्र तयार गरेको भए पनि आम नागरिकका लागि कुनै तयारीसमेत छैन। कोरोनाका नियन्त्रणका विषयमा के गर्ने भनेर छलफलसमेत गर्न छोडिएको छ। नेपाल बैंक लिमिटेडका प्रबन्धकलाई कोरोना संक्रमण देखिएपछि उनी होम आइसोलेसनमा बसेका छन् तर बैंकले आफ्नो सेवा बन्द गरेको छैन। त्यहा कार्यरत केहीमा कोरोना लक्षण देखिएको एक कर्मचारीले बताए। उनका अनुसार बैंक केही दिनलाई बन्द गर्ने विषयमा जिल्ला प्रसाशन कार्यालयले खासै चासो दिएको छैन।

उता जिल्लामा बढी चहलपहल हुने ग्लोबल आइएमई बैंक केही कर्मचारीमा कोरोना शंका लागेपछि उनिहरुलाई पिसिआर परीक्षणका लागि बाहिर पठाइएको छ। ‘पिसिआर स्याम्पल परीक्षण गरौंभन्दा कसैले वास्ता नगरेपछि कर्मचारी आफंैलाई परीक्षणका लागि भैरहवा पठाएका छौं।’ आइएमई बैंकका प्रबन्धक प्रवीण आचार्यले भने, ‘यतिबेला हामी र हाम्रा कारणले सेवाग्राहीसमेत उच्च जोखिममा हुनुहुन्छ।’ त्यसो त कृषि विकास बैंकका एक कर्मचारी पनि यतिबेला संक्रमित भएर आफू र श्रीमतीको उपचारका लागि जिल्लाबाहिर गएका छन् तर बैंक सेवा निरन्तरता दिइरहेको छ।

बैंकहरु जस्तै जिल्लाको एक मात्र अस्पताल रोल्पा अस्पताल पनि यतिबेला अत्यन्त जोखिम पूर्ण अवस्थामा छ। पर्याप्त सुविधा र जनशक्तिको अभावमा चलिरहेको अस्पतालमा आउने बिरामीका कारण स्वास्थ्यकर्मीहरु जतिबेला पनि संक्रमणको जोखिममा छन्। ‘कन्ट्याक ट्रेसिङ नहुदा संक्रमितहरु बढिरहेका छन्। आत्तिने अवस्था आइसकेको छ। हामी स्वास्थ्यकर्मी उच्च जोखिममा छौं,’ रोल्पा अस्पतालका डा. प्रकाश बुढाले भने, ‘व्यवस्थित आइसोलेसन नहुँदा संक्रमित राख्न समस्या भएको छ।’

आइसोलेसन नहँुदा संक्रमितका परिवार अत्यन्त जोखिममा रहेका छन्। घरमा परिवारसँग सँगै बस्नुपर्ने भएपछि परिवारका सबै सदस्य जोखिममा पर्ने गर्दन। सबैका घरमा पर्याप्त कोठा र शौचालय नहुने भएपछि थप समस्या आउने गरेको हो। ‘आइसोलेसन भएको भए मेरी श्रीमती संक्रमित हुँदैन थिन्।’ कोरोना संक्रमित एक युवाले भने, ‘मैरै कारणले श्रीमती संक्रमित भएकी छिन्।’ अहिले उनकी श्रीमती अस्पतालको एउटा कोठामा उपचारका लागि भर्ना गरिएकी छिन्।

पछिल्लोसमय जिल्लामा कोरोना संक्रमित बढिरहे पनि सञ्चालनमा रहेका अस्थायी आइसोलेसन केन्द्र हटाइएको छ। संक्रमितलाई बेग्लै राख्ने र उपचारसमेत गर्ने गरी यसअघि ‘नमुना आइसोलेसन केन्द्र’ बनाइएको थियो। स्थानीय तहहरुको आर्थिक व्यवस्थापनमा सदरमुकामस्थित जलजला बहुमुखी क्याम्पसमा प्रदेशकै नमुना आइसोलेसन केन्द्र सञ्चालन गर्दै आएकोमा कोभिड संकट व्यवस्थापन समितिको निर्णयबाट आइसोलेसन केन्द्र हटाइएको हो। करिब ३० लाख लगानीमा स्वास्थ्यकर्मीसहित लिबाङमा प्रदेशकै नमुना आइसोलेसन केन्द्र चलाइएपछि करिब २ सयलाई उपचार गरिएको थियो।

स्थानीय प्रसाशन र स्थानीय सरकारहरुले कोरोना व्यवस्थापनमा खासै चासो नदिएको भन्दै रोल्पा अस्पतालका सूचना अधिकारी कुलबहादुर डाँगी भन्छन्, ‘आइसोलेसन केन्द्रको व्यवस्था गर्दा सहज हुन्छ,’ उनी भन्छन्, ‘कोरोना संक्रमणले जोखिम फैलाइसकेको छ। कन्ट्याक ट्रेसिङ नहुँदा जिल्ला उच्च जोखिममा छ। स्वाब परीक्षण नभएका कारण संक्रमितको पहिचान नभएको हो तर यतिबेला संक्रमितको संख्या निकै धेरै छ।’ स्वास्थ्यकर्मीका अनुसार स्वाब परीक्षणमा पनि समस्या थपिएको छ। आर्थिक अभावका कारण रोल्पादेखि स्वाब ढुवानी गरी बाहिर जिल्ला लैजानसक्ने अवस्थासमेत छैन।



from Nagarik News - Home
Previous Post Next Post