देवताप्रति आस्थाका कारण डोल्पाको एक गाउँ नै मदिरा शून्य भएको छ। डोल्पाको मुड्केचुला गाउँपालिका–६ नर्कु थरगाउँ अहिले मदिरा शून्य भएको हो। सबै स्थानीय बासिन्दा देवताप्रति आस्था गरी पूजाआजातिर लागेपछि जाँड र रक्सीको उत्पादन तथा बिक्री वितरण नै बन्द भएको छ। मदिरा शून्य भएपछि गाउँबस्ती पनि शान्त भएको छ। तेत्तीस घरधुरी भएको सो बस्तीमा कोही कसैले मदिरा उत्पादन तथा सेवन नगर्न देवताले नै आग्रह गरेपछि यस्तो भएको बताइएको छ।

पहिलेदेखि मान्दै आएका कुल देवताहरुले मदिरा सेवन तथा बेचविखन गर्दा राम्रो नहुने भनेपछि पछिल्लो दुई बर्षदेखि मदिरा बन्द भएको पुजारी रामबहादुर बोहोराले जानाकारी बताए। ‘पहिले मदिरा सेवन गर्ने, होहल्ला गर्ने, घरमा दिनहुँ झैझगडा हुने, र विभिन्न घरेलु हिंसा हुन्थ्यो तर देवताले नै सबै रोक्न लगाएपछि अहिले सबै शान्त भएको छ’, वडा सदस्य मुनलाल बुढाले भने।

सबै क्षत्रीको मात्र बसोबास रहेको यो बस्तीमा पहिले मदिरा सेवन गर्नेहरुलाई पनि अहिले देवता प्रकट भएपछि एक किसिमको सकारात्मक सन्देश बाहिर गएको स्थानीय बासिन्दाहरुले बताउने गरेका छन्। धर्म संस्कृति बचाउन पुर्खादेखि पूजाआजा गर्दै आएका स्थानीयहरुले यो गाउँलाई मदिराको हिसाबले जिल्लाकै नमूना गाउँ बनाएका छन्। देवताहरुले गाउँमा अन्नबाली छर्दा, भित्र्याउँदा तथा अन्य शुभ कार्यका लागि संस्कार निर्माण गरेको स्थानीयवासीको भनाइ छ।



from Nagarik News - Home
Previous Post Next Post