चिनियाँ रक्षामन्त्री तथा स्टेट काउन्सिलर वेई फेङहे एक दिवसीय भ्रमणका क्रममा आइतबार नेपाल आउँदै छन्। परराष्ट्र मन्त्रालयले शनिबार विज्ञप्ति जारी गर्दै उनको भ्रमण तालिका सार्वजनिक गरेको छ। चिनियाँ जनमुक्ति सेनाको पूर्वरकेट फोर्स कमान्डरसमेत रहेका वेई चिनियाँ राष्ट्रपति सी जिङपिङले अध्यक्षता गर्ने केन्द्रीय सैन्य आयोगको मुख्य चारमध्येका एक सदस्य पनि हुन्।

नेपाल भ्रमणका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेट गर्नेछन्। उनी भ्रमण सकेर आइतबार नै स्वदेश फर्किने कार्यक्रम छ।

उनी नेपाल–चीन सम्बन्धको ६५औं वर्षगाठका अवसरमा नेपाल आउने भनिए पनि यो भ्रमण नेपालमा चिनियाँ उपस्थिति दर्साउन हुन लागेको कूटनीतिक क्षेत्रका जानकार बताउँछन्। पछिल्लो समय नेपालमा भारतलगायत पश्चिमा मुलुकहरूको चासो बढ्दै गइरहेका बेला चीनले रक्षामन्त्रीलाई नेपाल पठाउन लागेको हो। भारतीय विदेश सचिव हर्षवद्र्धन श्रींगलाले दुई दिवसीय भ्रमण सकेर फर्किएलगत्तै हुन लागेको चिनियाँ रक्षमन्त्रीको यो भ्रमणलाई चासोका साथ हेरिएको छ।



from Nagarik News - Home
Previous Post Next Post