जिल्ला अदालत धादिङले पत्नीलाई तातो तेल खन्याई घाइते बनाएका आश्विन परियारलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ। जिल्ला न्यायाधीश देवेन्द्र पौडेलको इजलासले ज्यान मार्ने उद्देश्यले तातो तेल पोखेर घाइते बनाउनेलाई थुनामा पठाउने आदेश गरेको हो। गत कात्तिक १८ मा पती पत्नीबीच झगडा हुँदा पूजा परियारलाई पुरी पकाएको तातो तेल टाउकोमा खन्याइदिएका थिए। पूजाको किर्तिपुर अस्पतालमा उपचार भइरहेको छ।

त्यसपछि आश्विनलाई जिल्ला अदालतमा ज्यान मार्ने मुद्दा दर्ता भएको थियो। मुद्दापछि आश्विन र उनकी आमा सीतालाई पक्राउ गरिएको थियो। अदालतले आश्विनलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश गरेको छ। त्यसैगरी उनकी आमालाई भने एक लाख रुपैयाँ धरौटीमा थुनाबाहिरै राखी अनुसन्धान गर्न आदेश गरेको छ। पूजाले भनेकी छिन्, ‘श्रीमानले झगडा गरी तातो तेल अनुहारमा छर्कंदा मैले अनुहार छोपे। तर, तातो तेल मेरो टाउकोमा खन्याइ अनुहार, दुवै हातखुट्टा, पेट, छातीलगायत शरीरमा पर्न गई घाइते भएपछि कराउँदै कोठाबाहिर निस्किएपछि सासु ससुरा छरछिमेकका मानिस आएर गाडी बोलाइ उपचारमा लगेका हुन्।’ पूजाले लेखाएको जाहेरीमा उल्लेख छ।



from Nagarik News - Home
Previous Post Next Post