निर्माण कार्य सुरु गरेको करिब १० वर्षपछि बिजुली बलेपछि हुम्लाको उत्तरी गाउँका स्थानीय बासिन्दाले उज्यालो देख्न पाएका छन्। सिमकोट गाउँपालिका–८ स्थित खोल्सी तथा नाम्खा गाउँपालिका–३ का लामाखोल्सी, खगाल गाउँ र गुम्बाका गरेर २५० घरधुरीले सल्लाको दियालोबाट मुक्त भएर उज्यालो देख्न पाएका हुन्।

यसअघि गाउँमा बिजुली नहुँदा सल्लाको दियालो र सोलार टुकी तथा अन्य वैकल्पिक व्यवस्था गर्न बाध्य हुनुपर्ने अवस्था रहेको खोल्सी गाउँका स्थानीयवासी दन्त सिंहले जानकारी दिए। उनले भने,“गाउँमा पहिलो पटक बिजुली पुग्दा अन्धकारमुक्त भएका छौँ।” छिफुन्बो लघुजलविद्युत् आयोजनाको २८ किलोवाट क्षमता भएको विद्युत्ले खोल्सीका ९०, खगाल गाउँका १००, लामााखोल्सीका ४० र गुम्बाका २० घरधुरी गरेर २५० घरधुरीले बिजुली बालिरहेका छन्।

आधार विकास नेपाल हुम्लाले दुई गाउँपालिकाका चारवटा गाउँका सबै घरधुरीमा निःशुल्क बत्ती जडान गरिदिएको हो। अर्का स्थानीयवासी दिपक सिंहका अनुसार कोही बत्ती बाल्न सक्ने थिए, कोही थिएनन् तर आधार विकासले जडान कार्यमा लाग्ने सम्पूर्ण खर्च सहयोग गरिदिएको हो। गाउँपालिका, सङ्घीय सरकार, प्रदेश सरकार र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको करीब तीन करोड रुपैयाँको आर्थिक सहयोग तथा स्थानीयवासीको जनश्रमदानमा २८ किलोवाटको बिजुली उत्पादन गरिएको हो। रासस



from Nagarik News - Home
Previous Post Next Post