बाह्रबिसे नगरपालिकाको पलाँतीमा एक लाख ११ हजार एक सय ११ रुपैयाँ नगद पुरस्कार राशिको कोमलमाया–खड्ग स्मृति नाइन ‘ए’ साइड फुलबल प्रतियोगिता आयोजना हुने भएको छ।

नेपाली कांगे्रस केन्द्रीय खेलकुद विभागको आयोजना र जिल्ला फुटबल संघको प्राविधिक र व्यवस्थापकीय सहयोगमा साताव्यापी जिल्लास्तरीय फुटबल प्रतियोगिता आयोजना हुन लागेको हो। पत्रकार सम्मेलन गरी विभागका केन्द्रीय संयोजक तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतले दिएको जानकारीअनुसार प्रतियोगिता आगामी पुस २२ देखि २८ गतेसम्म चल्नेछ।

प्रजातन्त्र सेनानी कोमलमाया र खड्गबहादुर बस्नेत उनका स्वर्गीय मातापिता हुन्। उनीहरूकै स्मृतिमा प्रतियोगिता गराउन लागिएको हो। प्रतियोगितामा जिल्लाका १२ स्थानीय तहलाई सहभागी गराइने बस्नेतले जानकारी दिए। साढे आठ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको प्रतियोगिताको नगद पुरस्कार प्रायोजन अमेरिकामा बस्ने बस्नेतका कान्छा भाइबुहारी प्रकाश र सृष्टिले गरेका छन्। प्रतियोगिताको सबै खर्च बस्नेत परिवारले बेहोर्ने पत्रकार सम्मेलनमा जानकारी दिइयो।

आयोजकका अनुसार प्रतियोगिताको विजेताले एक लाख ११ हजार एक सय ११ रुपैयाँ नगद पुरस्कार पाउँदा उपविजेताले ५५ हजार पाँच सय ५५ रुपैयाँ हात पार्नेछ। प्रत्येक खेलका म्यान अफ दी म्याचलाई ट्र«फीका साथ नगद पाँच हजार रुपैयाँ दिइँदा प्रतियोगताको सर्वोत्कृष्ट खेलाडीले २० हजार रुपैयाँ पाउनेछन्। त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर र स्ट्राइकरलाई जनही नगद सात हजार रुपैयाँ पुरस्कार र ट्र«फी दिइने आयोजकले जनाएको छ।



from Nagarik News - Home
Previous Post Next Post