न्युजिल्यान्डका कप्तान केन विलियम्सन टेस्ट ब्याट्सम्यानको वरीयतामा सुधार गर्दै भारतीय समकक्षी विराट कोहलीसँगै सोमबार दोस्रो स्थानमा पुगेका छन्।

त्यस्तै वेस्ट इन्डिजका कप्तान जेसन होल्डरले भने आइसिसी टेस्ट अलराउन्डरमा शीर्ष स्थान गुमाउँदा उनलाई इङ्ल्यान्डका बेन स्टोक्सले विस्थापित गरेका छन्। होल्डरको टोली वेस्ट इन्डिजले न्युजिल्यान्डसँगको पहिलो टेस्टमा निकै खराब हार सामना गर्दा उनको टोली इनिङ र १ सय ३४ रनले पराजित भएको थियो, जहाँ होल्डरको प्रदर्शन पनि राम्रो हुन सकेको थिएन। अस्ट्रेलियाका पूर्वकप्तान स्टिभ स्मिथ ९ सय ११ अंकका साथ टेस्ट शीर्ष ब्याट्सम्यानमा रहँदा कोहली र विलियम्सन समान रूपमा दोस्रो स्थानमा छन्।

वेस्ट इन्डिजविरुद्ध पहिलो टेस्टमा सानदार प्रदर्शन गरेका विलियम्सनले ह्यामिल्टनमा दोहोरो शतक बनाएका थिए। टेस्ट ब्याट्सम्यानको वरीयतामा अस्ट्रेलियाका मार्नस लाबुसेनले एक स्थान गुमाउँदा चौथो स्थानमा झरेका छन्। पाकिस्तानका बाबर आजम पाँचौं र डेविड वार्नर छैटौं स्थानमा यथावत् छन्। न्युजिल्यान्डकै अर्का क्रिकेटर टम लाथम शीर्ष चारमा अटाउन सफल भए। अलराउन्डरतर्पm न्युजिल्यान्डसँगको खेलमा ३१ ओभरसम्म बलिङ गर्दा विकेटविहीन भएका होल्डरले आइसिसीको शीर्ष वरीयता गुमाए। उनले ब्याटिङमा पनि २५ रन र ८ रन मात्र बनाएका थिए। शीर्षका स्टोक्सको ४ सय ४६ अंक र होल्डरको ४ सय ४३ अंक छ।

भारतका रवीन्द्र जडेजा तेस्रो स्थानमा यथावत् छन् भने बंगलादेशका सकिब अल हसन एक स्थान सुधार गर्दा चौथो स्थानमा उक्लिए। टेस्टकै बलरको वरीयतामा अस्ट्रेलियाका प्याट कमिन्स शीर्षमा रहँदा न्युजिल्यान्डका निल वाग्नर दोस्रो स्थानमा उक्लिएका छन्। इङ्ल्यान्डका स्टुआर्ट ब्रोड तेस्रो स्थानमा खस्कँदा न्युजिल्यान्डका टिम साउथी चौथोमा यथावत् छन्। भारतले घरेलु टोली अस्ट्रेलियासँगको चार खेलको टेस्ट शृंखला आगामी डिसेम्बर १७ देखि एडिलेडमा खेल्दै छ, जसले पनि खेलाडीको वरीयतामा धेरै फरक आउनेछ।



from Nagarik News - Home
Previous Post Next Post