सोसल मिडियामा जताततै ‘भ्यालेन्टाइन्स डे’सम्बन्धी लेखेको देख्दा हामीजस्तो मायामा धोका खाएर बसेका मान्छेलाई रिस उठेर आउने भन्या !

रिस उठ्ने कुरा त छँदै छ, साथसाथै आफ्नो पहिलो डेटिङको पनि खुब याद आउने रहेछ। पहिलोपल्ट डेटिङ जाँदा हामी चिल्ली मसला खाएर रोएथ्यौँ। त्यो समयमा धेरै पिरो भएर रोएजस्तो लागेको थियो तर के थाहा त्यही प्रेमले जिन्दगीभर रुवाउला भनेर ! उसको याद पनि खुब आउँछ तर फगत याद मात्रै आउने जानेगर्ने रहेछ। वास्तविकतामा न ऊ आउन सक्छ, न म नै ऊसँग जान सक्छु।

कक्षा ८ मा पढ्दै गर्दा ऊसँग मेरो लभ परेको थियो, तर अफिसियल्ली भने १२ कक्षा सकिएपछि सुरु भयो। उसले त अझै अगाडिदेखि मलाई मन पराउने रहेछ ! जति नै मन पराए पनि के गर्नु ? उसको भाग्यमा म र मेरो भाग्यमा उसको नाम नलेखिएपछि !

अब त मेरो मास्टर्ससम्मको पढाइ पनि सकिन लागिसक्यो तर उसको नाम मेरो मन र मस्तिष्कबाट निस्कने सुरै गर्दैन। ऊ मेरो जिन्दगीको पहिलो प्रेम थियो। पहिलो प्रेम भएकाले हो कि, खै किन हो कुन्नी उसलाई म आफूलाई भन्दा धेरै माया गर्थेँ र मेरो अन्तिम सास चलुञ्जेलसम्म गरिरहन्छु।

त्यो समयमा ऊसँगको प्रेमबारे घरमा कसैलाई भन्न सकिनँ तर अब म के गरुँ ? मेरो बिहे अर्कैसँग फिक्स भइसक्यो ! मन ऊतिर अनि ज्यान अर्कोतिर हुन लागेको छ। यस्तो बेलामा झनै ऊसँग बिताएका पलहरुको याद आउने रहेछ !

तर खै किन हो मेरो प्रिय, मैले यति धेरै याद गर्दा पनि तिमी हरायौ। मलाई बिर्सिसक्यौ होला है ! कुनै म्यासेज पनि गर्दैनाैं, पठाएका म्यासेजको रिप्लाई पनि गर्दैनौ। तिमी त परिवर्तन भयौ, म भने सपनामा पनि तिमीलाई नै देख्ने गर्छु।

अरु भन्छन्, प्रेमले जीवनमा केही ज्ञान दिएर जान्छ तर मलाई त तिम्रो याद मात्रै दिएर गयो। तिमीलाई के थाहा प्रिय, म फेसबुकमा तिम्रो प्रोफाइल मात्रै दिनको १० चोटी हेर्छु।

६ वर्षजति भयो तिमीसँग नबोलेको, उसलाई नदेखेको अनि नभेटेको। त्यही भएर होला, एकपल्ट भेट्न मन छ। भेटेर अँगालोमा बेरिन मन छ अनि बेस्सरी रुन मन छ। रुँदा पनि मन हल्का हुन्थ्यो कि !



from Nagarik News - Home
Previous Post Next Post