
जिन्दगीले छिनछिनमा परीक्षा लिइरहेको हुन्छ। झन् खेलाडीको परीक्षा त प्रत्येक मोडमा हुन्छ। जसले यो परीक्षालाई पार गर्न सक्यो, ऊ नै अब्बल खेलाडी हुने गर्छ। मन्देकाजी श्रेष्ठले पनि खेलजीवनमा धेरै परीक्षा दिए। त्यो पनि कठिन। अझ त्यो पनि एकपछि अर्को। उनी धैर्यवान् र मिहिनेती हुँदैनथे भने कताकता हूलमा हराइसक्थे। तर उनलाई यस्तो नियति स्वीकार्य थिएन, त्यसैले मन्देकाजी यस रूपमा अहिले हामीसँग छन्।
सबैभन्दा पहिला मन्देकाजीको संघर्षको कथा। प्रारम्भमा उनलाई भाग्यले ठग्थ्यो। उनी कुनै सम्भावित उपलब्धिको नजिक त पुग्थे, तर उपलब्धि कोसौं टाढा। सन् २००६ को दक्षिण एसियाली खेलकुद (साग) हुँदा ताकै उनी नेपाली राष्ट्रिय कराते टोलीका सदस्य थिए, तर उनी अन्तिम छनोटतिर फालिए। सन् २०१० को ढाका सागमा हुँदै भयो। उनी प्रतियोगिता खेल्ने टिममा थिए, तर आयोजक बंगलादेशले १० नेपाली खेलाडीलाई मात्र अवसर दियो। मन्देकाजी ११औं खेलाडीका रूपमा घर फर्कन बाध्य भए। केटा मान्छे भए पनि उनी बाटोभरि रोएर घर फर्के। सन् २०१६ को सागका बेला त हदले पराकाष्ठा नै नाघ्यो। यस प्रतियोगितामा कराते नै राखिएन। डर थियो, कतै मन्देकाजीको साग खेल्ने सपना तुहिने त होइन ?
धन्न केही अन्योलबीच वर्ष २०७६ मा काठमाडौंमै १३औं साग भयो। यसपल्ट भने मन्देकाजीले आफूलाई प्रमाणित गर्ने अवसर पाए, त्यो पनि राम्रैसँग। व्यक्तिगत काता र टिम कातामा गरेर दुई स्वर्ण जिते। त्यस अगाडिसम्म उनी एक प्रकारले नेपाली करातेमा गुमनाम खेलाडी हुने बाटोमा थिए, तर त्यो दुई स्वर्णले उनी नेपाली करातेकै सबैभन्दा सफल खेलाडीमध्ये एक भएका छन्।
आखिरमा एकै संस्करणको सागमा यसअघि कोही नेपाली कराते खेलाडीले दुई स्वर्ण त जितेको थिएन नै। यी दुई स्वर्णको उपलब्धिपछि उनी आफैं भन्छन्, ‘म त अब भाग्यमानी मन्देकाजी पो हुँ।’ उनले निकै धैर्य गरेर त्यो अवसरका लागि प्रतीक्षा गरिरहे। मिहिनेत गर्न छाडेनन्। छाड्थे त अहिलेको अवस्थामा हुने थिएनन्, त्यसैले नेपाली खेलकुदमा कुनै प्रकारको राम्रो उदाहरण दिनुपर्यो भने थिमीका यी रैथाने मन्देकाजीको नाम पक्कै आउनेछ।
नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्न लागेको पल्सर स्पोटर््स अवार्ड २०७६ को लोकप्रिय खेलाडी विधामा मन्देकाजीको नाम त्यसैले छुटेन, उनी यसका पूर्ण हकदार रहे। वर्ष ०७६ मा उनी एक प्रकारले लयमा पनि रहे, सागको सफलता उनीतर्फ त्यसै ठोकिन आएको पनि थिएन। उनले बंगलादेशमा भएको साफ कराते च्याम्पियनसिपमा एक स्वर्ण र एक कांस्य जितेका थिए।यस्तै थाइल्यान्ड ओपनमा रजतसँगै उत्कृष्ट खेलाडी भए। मन्देकाजी यहाँसम्म पुग्न सक्नकाु पछाडि उनी आबद्ध नेपाल प्रहरीको लगातार सहयोग पनि महत्वपूर्ण छ। नेपाल प्रहरीको त्यो साथ नहुँदो हो त मन्देकाजीको दृढता कमजोर हुन सक्थ्यो। त्यसैले उनी नेपाल प्रहरीप्रति खुबै कृतज्ञ छन्। उनको यो सबै पृष्ठभूमिबीच कसैलाई पनि मन्देकाजीप्रति सम्मान जाग्छ भने उनका लागि मतदान त गर्नै पर्छ।
from Nagarik News - Home