धानका लागि अनुकूल मौसम र समयमा रोपाइँ भएकाले यो वर्ष ७० हजार मेट्रिक टन धान उत्पादन बढेको छ। सरकारले धान रोप्ने र गोड्ने बेला आवश्यकताअनुसार रासायनिक मल उपलब्ध गराउन नसके पनि पोहोरको तुलनामा उत्पादन बढेको हो।

कृषि तथा पशुपक्षी विकास मन्त्रालय स्रोतका अनुसार चालु आर्थिक वर्ष २०७७/७८ मा ५६ लाख २१ हजार मेट्रिक टन धान उत्पादन भएको हो। मन्त्रालयले औपचारिक रूपमा तथ्यांक सार्वजनिक गरेको छैन। गत आवमा २०७६÷७७ मा ५५ लाख ५१ हजार मेट्रिक टन धान उत्पादन भएको थियो। मन्त्रालयका अनुसार धान रोपाइँको क्षेत्रफल पनि बढेर करिब १५ लाख हेक्टर क्षेत्रफल पुगेको छ।

कृषिले कुल गार्हस्थ्य उत्पादनका करिब २७ प्रतिशत योगदान गरेको छ। त्यसमा करिब ७ प्रतिशत धानको योगदान छ। चालु आवमा कोभिडका कारण मुलुकको आर्थिक वृद्धिदर निकै घटिरहेका बेला धान उत्पादन वृद्धिले केही राहत हुने अनुमान गरिएको छ। कृषि मन्त्रालयका सहसचिव हरिबहादुर केसीले समयमा वर्षा र रोपाइँ भएका कारण धान उत्पादन वृद्धि भएको बताए। ‘जेठदेखि नै वर्षा भएका कारण किसानले समयमा धान रोप्न पाए,’ केसीले भने, ‘रासायनिक मल उपलब्ध गराउन सकेको भए अझै वृद्धि हुन्थ्यो।’ युरिया मल अभावले उत्पादन अपेक्षित रूपमा अझै बढ्न नसकेको उनले बताए। केसीका अनुसार धान रोपाइँको क्षेत्रफल पोहोरको तुलनामा यो वर्ष बढेको छ। पर्याप्त सिँचाइको व्यवस्था नहुँदा अकासे पानीका भरमा धान रोप्नुपर्ने बाध्यता छ। नेपालमा ६० मिटर उचाइको झापाको कचनकवलदेखि ३ हजार ५० मिटर उचाइको जुम्लाको छुमचौरसम्म धान खेती गरिन्छ।

धान उत्पादन बढे पनि विदेशबाट कृषिजन्य वस्तुको आयात भने रोकिएको छैन। नेपालीलाई पुग्ने गरी धान तथा खाद्यान्न उत्पादन भए पनि मिठोमसिनो चामल विदेशबाट आयात भएको कृषि मन्त्रालयका सचिव योगेन्द्रकुमार कार्कीको दाबी छ।

‘यहाँ उत्पादन हुने मोटो चामल हो,’ कार्कीले भने, ‘मसिनो चामल खाने नेपालीको आदतले विदेशबाट आयात भइरहेको छ।’ चाहिने जति धान उत्पादन गर्ने योजना बनाएको उनले बताए। उच्च पहाड, पहाडी क्षेत्रमा मकै, कोदो, फापर खाने आदत बढाउनुपर्ने उनको भनाइ छ।

‘चामलप्रतिको परनिर्भरता घटाउन खानपानमा परिवर्तन गर्नुपर्छ,’ कार्कीले भने। सरकारले धान उत्पादन बढाउन केही वर्षदेखि मसिना तथा बास्नादार धान उत्पादन प्रवद्र्धन कार्यक्रम, बृहत्तर धान उत्पादन कार्यक्रम सञ्चालन गर्दै आएको थियो। अहिले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत विभिन्न जिल्लामा धानका पकेट, जोन, सुपरजोन बनाएको छ।

उन्नत जातको बीउ, समयमा रासायनिक मल, पर्याप्त सिँचाइको व्यवस्था भए धान उत्पादन अझै १५ देखि २५ प्रतिशत बढ्ने धान विज्ञ बताउँछन्। धान विज्ञ भोलामान सिंह बस्नेतका अनुसार उन्नत जातको बीउ उपलब्ध गराउन सके मात्र पनि धान उत्पादन १० देखि १५ प्रतिशत बढ्न सक्छ।

सरकारले धान उत्पादन बढाउन चैते धानलाई पनि प्राथमिकतामा राखेको छ। कृषिविज्ञका अनुसार अन्य धानको तुलनामा चैते धान २० देखि २५ प्रतिशतसम्म उत्पादन बढी हुने विज्ञ बताउँछन्। चैते धान अहिले डेढ लाख हेक्टरमा हुँदै आएको छ। मधेस र भित्री मधेसमा सजिलै चैते धानको उत्पादन हुन्छ। सरकारले सिँचाइको व्यवस्थापनमा ध्यान दिन सके ७० प्रतिशत खेती हुने भूभागमा चैते धान उत्पादन हुन्छ।

स्वदेशमा उत्पादन गर्न नसकिने वस्तु आयात गर्नु स्वाभाविक भए पनि यहाँ उत्पादन गर्न सकिने कृषिजन्य वस्तु आयात हुँदै आएको छ। कृषिमा यान्त्रिकीकरण, व्यावसायीकरण नहुँदा आयात बढिरहेको कृषि विज्ञहरू बताउँछन्।

किसानलाई अनुदान, उत्पादित वस्तुको बजार सुनिश्चित, मल, बीउ, प्रविधि, सिँचाइको सहज पहुँच नहुँदा अन्य कृषिजन्य वस्तु अपेक्षित रूपमा उत्पादन बढ्न नसकेको हो। गत आवमा खाद्यान्न तथा खाद्य उद्योगमा प्रयोग हुने कृषिजन्य वस्तु ८७ अर्ब ८४ करोड रूपैयाँको आयात भएको थियो। दुई खर्ब ४३ अर्ब रूपैयाँका कृषि, पशु तथा वनजन्य वस्तु विदेशबाट आयात भएको थियो।

सरकारले यो वर्ष समयमा मै न्यूनतम समर्थन मूल्य तोकेको थियो। मोटा धानको मूल्य प्रतिक्विन्टल २ हजार ७ सय ३५ र मध्यम धानको २ हजार ८ सय ८५ रूपैयाँ तोकिएको छ। यो वर्ष पोहोरको तुलनामा धानको मूल्य प्रतिक्विन्टल दुई सय रूपैयाँ बढी मूल्य तोकिएको थियो। पोहोर मोटा धानको समर्थन मूल्य क्विन्टलको २ हजार ५ सय ३१.८० रूपैयाँ र मध्यम धानको २ हजार ६ सय ७३ रूपैयाँ थियो। उत्पादन लागतका आधारमा यस वर्ष मूल्य बढाएको थियो।

सरकारले यो वर्ष सहकारीमार्फत धान खरिद गर्ने व्यवस्था मिलाएको छ। सरकारले तोकेको मूल्यमा धान किनेपछि प्रतिक्विन्टल १ सय १२ रूपैयाँ अनुदान पाउने व्यवस्था गरेको मन्त्रालयका सचिव कार्कीले बताए। ‘न्यूनतम समर्थन मूल्यमा धान खरिद र व्यवस्थापन गर्नेसम्बन्धी निर्देशिका, २०७७ तयार गरेको थियो।

कृषि अनुसन्धान परिषद् (नार्क) का अनुसार मुुलुकमा झन्डै २३ सय प्रकारका धानका स्थानीय जात छन्। नेपालमा करिब ३० किसिमका धानका उन्नत बीउ विकास गरिएको छ। कतिपय जातका बीउ भने किसानले रोप्न छाडेपछि लोप पनि भएका छन्। नेपालमा बासमती सहित राधा–१४, राधा–१३, हर्दिनाथ, मन्सुली, खुमल–४, सावित्रीसहित लोकतन्त्र, राधा–४, राधा–१३, राधा–१०, मिथिला, तरहरा–१, चैते–२, चैते–४, चैते–५, चैते–६, स्वर्ण सब–१, हर्दिनाथ–१, हर्दिनाथ–२, हर्दिनाथ–३, सुक्खा–१, रामधान, लेकाली, माछापुच्छ«ेलगायत धानका जात धेरै प्रयोगमा छन्। विगतमा चीन, भारतबाट धानको बीउ ल्याउने गरिएकोमा अहिले हाइब्रिडसमेत यहाँ तयार गरिन्छ। ४७ वर्ष पुराना धान पनि यहाँ रोप्दै आएका छन्।



from Nagarik News - Home
Previous Post Next Post