साहित्यकार रमेश विकलको स्मृतिमा स्थापित विभिन्न पुरस्कार घोषणा गरिएको छ। बिहीबार रमेश विकल साहित्य प्रतिष्ठानले प्रेस विज्ञप्तिमार्फत विभिन्न पुरस्कार र पुरस्कृत व्यक्तित्वको नाम घोषणा गरेको हो। प्रतिष्ठानले कला, साहित्य र समाज सेवामा सक्रिय व्यक्तित्वलाई विभिन्न पुरस्कार प्रदान गरिने जनाएको छ।

यस वर्षको ३० हजार रुपैयाँसहितको रमेश विकल वाङ्मय साहित्य पुरस्कार भाषासेवी शान्तदास मानन्धरलाई प्रदान गरिने भएको छ। त्यस्तै २० हजार रुपैयाँसहितको रमेश विकल सुशीला समाजसेवा पुरस्कार सीता पोखरेल (अनाथाश्रम, विराटनगर)लाई प्रदान गरिँदै छ। त्यस्तै रमेश विकल सिर्जना पुरस्कार साहित्यकार आहुतीलाई प्रदान गरिने प्रतिष्ठानले जनाएको छ।

यस वर्षको रमेश विकल बालसाहित्य पुरस्कार साहित्यकार प्रभा भट्टराई र रमेश विकल सुशीला नारी पुरस्कार मिठाइदेवी विश्वकर्मालाई प्रदान गरिने भएको छ। रमेश विकलको कला प्रतिभालाई सम्मान गर्न स्थापित रमेश विकल कला संगीत पुरस्कार कलाकार हरिप्रसाद शर्मालाई प्रदान गरिने निर्णय गरिएको छ। सबै पुरस्कारको राशि १० हजार रुपैयाँ रहेको छ। सम्मान र पुरस्कार आगामी पुस ४ मा प्रदान गरिने प्रतिष्ठानका महासचिव विजय चालिसेले जानकारी दिए।



from Nagarik News - Home
Previous Post Next Post