फियोरेन्टिनामाथि २–० को जितका साथ एसी मिलानले इटालियन सिरी ‘ए’ को शीर्ष स्थानमा ५ अंकको अग्रता लिएको छ।
यस जितपछि एसी मिलान ९ खेलमा २३ अंकका साथ शीर्ष स्थानमा यथावत् छ, जुन दोस्रो स्थानको इन्टर मिलान र तेस्रो स्थानको सासौलोभन्दा ५ अंक बढी हो। साबिक विजेता युभेन्ट्स र नेपोली समान १७ अंकका साथ क्रमशः चौथो र पाँचौं स्थानमा छन्। एएस रोमा पनि १७ अंकका साथ छैटांै स्थानमा छ।
स्ट्राइकर ज्लाटान इब्राहिमोभिच मांसपेशीको समस्याका कारण टोलीमा अनुपस्थित भए पनि मिलानले यस सिजन सिरी ‘ए’ मा आफ्नो अपराजित यात्रा कायम गरेको हो।
१७औं मिनेटमा फ्र्यांक केइसीको पासमा एलिसियो रोमागंलोनीले गरेको गोलमा मिलानले अग्रता लिएको थियो। त्यसको १० मिनेटपछि केइसीले पेनाल्टीको सदुपयोग गर्दै मिलानको अग्रता दोब्बर पारेका थिए।
‘स्टेफानो पियोलले भिडियो सन्देशमार्फत टोलीलाई बधाई दिएका छन्,’ केइसीले भने, ‘हामीले महत्वपूर्ण खेल जित्याैं।’
from Nagarik News - Home