शनिबार इङ्लिस प्रिमियर लिगअन्तर्गत आर्सनल र चेल्सीका समर्थकका लागि भिन्न रह्यो। आर्सनलका समर्थकले ५६ दिनपछि प्रिमियर लिगमा आफ्नो टोलीको पहिलो जितको खुसीयाली मनाउँदा चेल्सीका समर्थक भने निरन्तर जितको लयमा ब्रेक लाग्दा निराश बने।

फ्रांक लाम्पार्डले आर्सनलको घरेलु मैदान इमिरेट्स रंगशालामा जित हात पारेको खण्डमा टोली प्रिमियर लिगको दोस्रो स्थानमा उक्लिने थियो तर मिकेल अर्टेटाको टोलीसँग ३–१ को हारपछि चेल्सी अंकतालिकाको शीर्ष ६ बाट समेत बाहिर परेको छ।

लाम्पार्डले आफ्ना खेलाडीमा जितको भोक नभएको प्रतिक्रिया दिए भने अर्टेटाले आफ्ना समर्थकको निराशालाई केही हदसम्म कम गर्ने प्रयास गरेको बताए।

नोभेम्बरमा पिइरे इमेरिक औबामेयाङको पेनाल्टी गोलमा म्यानचेस्टर युनाइटेडलाई हराएपछि आर्सनलले प्रिमियर लिगमा एउटा पनि खेल जित्न सकेको थिएन। चेल्सीविरुद्धको खेलअघि सन् १९७४–७५ सिजनकै सर्वाधिक खराब प्रदर्शन गर्ने क्रममा आर्सनल लिगको १५औं स्थानमा थियो। आर्सनलले १४ खेलमा मात्र १४ अंक जोडेको थियो।

यस क्रममा टोलीले ८ हार बेहोरेको थियो। सन् १९९३ को जनवरीमा पनि आर्सनलले प्रिमियर लिगमा लगातार ८ खेलसम्म सुखद नतिजा ल्याउन सकेको थिएन। आर्सनलले चेल्सीसँग पछिल्लो १७ खेलमा मात्र २ जित हात पारेको थियो।

३४औं मिनेटमा एलेक्जेन्टर लाकाजेटले गरेको पेनाल्टी गोलमा आर्सनलले अग्रता लिएको थियो। त्यसको ४ मिनेटपछि नै ग्रानिट जाकाले आर्सनलको अग्रता दोब्बर पारेका थिए। ५६औं मिनेटमा बुकायो साकाले आर्सनलको अग्रता ३–० मा पुर्‍याएका थिए।

खेल सकिन ५ मिनेट बाँकी हुँदा ट्यामी अब्राहमले बललाई जाली चुमाउँदै चेल्सीलाई खेलमा फर्काउने प्रयास गरेका थिए। इन्जुरी समयको तेस्रो मिनेटमा जर्जिनो पेनाल्टीको अवसर खेल फाल्दा चेल्सीले गोलअन्तर कम गर्ने अवसर गुमाएको थियो।

‘यो विशेष दिन हो,’ अर्टेटाले भने, ‘बक्सिङ डे, त्यसमाथि लन्डन डर्बीमा उच्च लयमा रहेको चेल्सीमाथि सुखद नतिजाको साथ जितको लय समात्यौ। हामी लगातारको खराब प्रदर्शनले निकै निराश भएका थियौं। हामीले राम्रो प्रदर्शन गरे पनि नतिजा भने आफ्नो पक्षमा पार्न सकेका थिएनोँ। खराब नतिजाले खेलाडी, समर्थक र पूरै क्लब व्यवस्थापन नै निराश थियोै। आजको जितले टोलीको मनोबल बढाएको छ। आशा छ, आगामी खेलमा पनि हामी जितको लयमै हुनेछौँ।’

आर्सनलले प्रिमियर लिगका आगामी ४ खेलमा ब्राइटन, वेस्ट ब्रोम, क्रिस्टल प्यालेस र न्युक्यासल युनाइटेडको सामना गर्नेछ। यता २ साताअघि मात्र एभर्टनसँग स्तब्ध हुँदा चेल्सीको १७ खेलको अपराजित यात्रामा पूर्णविराम लागेको थियो। जहाँ स्पष्ट ३ अंकले टोली शीर्ष स्थानमा पुग्ने थियो।

१४ खेलको समाप्तिमा लिभरपुल ३१ अंकका साथ शीर्ष स्थानमा छ भने १५ खेलमा २९ र २८ अंक जोडेका एभर्टन र लेस्टर सिटी क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्। म्यानचेस्टर युनाइटेड २७ अंकका साथ चौथो र २६ अंक जोडेको म्यानचेस्टर सिटी पाँचौ स्थानमा छन्। समान २५ अंक जोडेका एस्टन भिल्ला चेल्सी, टोटेनह्याम र साउथह्याम्पटन क्रमशः छैटौ सातौ र आठौं स्थानमा छन्।

‘हामी निरन्तर जितको लयमा थियौं, तर पछिल्लो खेलबाट सो यात्रामा ब्रेक लागेको छ,’ लाम्पार्डले भने, ‘आज हामीले निकै खराब प्रदर्शन गर्‍यौं, जसको प्रत्यक्ष नतिजा हाम्रो नतिजामा देखियो। हामीले पहिलो हाफमै आत्मसमर्पण गर्‍यौ।’

प्रिमियर लिग अन्तर्गत शनिबार भएका अन्य खेलमा म्यानचेस्टर सिटीले न्युक्यासलाई २–० ले हराउँदा लेस्टर सिटी र युनाइटेडले २–२ को बराबरी खेले।



from Nagarik News - Home
Previous Post Next Post