विशेष अदालतले बालुवाटारस्थित ललिता निवास सरकारी जग्गा आफ्नो नाम गरेको अभियोग लागेका उमाकुमारी ढकाललाई दुई लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको छ। विशेष अदालतका अध्यक्ष न्यायाधीश प्रेमराज कार्की, न्यायाधीशहरू अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासले थुनछेक बहसपछि बिहीबार उक्त धरौटी लिएर छाडने आदेश जारी गरेको विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेले जानकारी दिए।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उक्त अभियोगमा उमाकुमारीसँग ९१ लाख २० हजार रुपैयाँ बिगो माग दाबी गरेको थियो। राष्ट्रसेवक कर्मचारी र पदाधिकारीलाई अनुचित प्रभावमा पारी सार्वजनिक जग्गा गैह्रकानुनी रुपमा आफूसमेतको नाममा सट्टा गरेको र राज्यलाई प्रत्यक्ष हानी पुर्‍याएकाले उनलाई अख्तियारले दुई वर्ष कैद वा बिगो जफत र जरिवानाको माग गरेको थियो।

ललिता निवास प्रकरणका प्रमुख अभियुक्त डा. शोभाकान्तकी पत्नी उमाकुमारी हुन्। सरकारी र सार्वजनिक जग्गा बेचेको अभियोग लागेका डा. ढकालसँग अख्तियारले ३९ करोड रुपैयाँभन्दा बढी बिगो माग दाबी गरेको थियो। रासस



from Nagarik News - Home
Previous Post Next Post