वरिष्ठ मुटुरोग विशेषज्ञ तथा नेपाल मेडिकल काउन्सिलका अध्यक्ष प्रा.डा. भगवान् कोइरालाको आकस्मिक रूपमा मिर्गौलाको पत्थरीको शल्यक्रिया भएको छ। उनको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा बिहीबार शल्यक्रिया भएको अस्पतालले जनाएको छ। बुधबार साँझ दुखाइ बढेपछि उनलाई ह्याम्स लगिएको थियो।

उनको शल्यक्रियामा संलग्न मानव अंग प्रत्यारोपण केन्द्रका युरोसर्जन प्रा.डा. प्रेम ज्ञवाली डा. ज्ञवालीसहित डा. सुमन चापागाईं र डा. सुजित पौडेलेका समूहले उनको शल्यक्रिया गरेको हो। डा.कोइरालाको स्वास्थ्यमा समस्या थाहा पाएपछि डा.ज्ञवाली ह्याम्स अस्पताल पुगेर शल्यक्रिया गरेको ह्याम्स अस्पतालका निर्देशक डा.ज्योतीन्द्र शर्माले नागरिकलाई बताए। निर्देशक डा. शर्माका अनुसार डा. कोइरालाको मिर्गौला र पिसाब थैलीको बीचको नलीमा ५ मिलिग्रामको पत्थरी अड्केकाले दुखाइ भएको थियो । पत्थरीका कारण नली सुन्निएको थियो।

आधुनिक प्रविधिबाट शल्यक्रिया गरी ढुंगा निकालिएको हो। समयमै उपचार नभएको भए पिसाबको संक्रमणले जटिलता आउने डाक्टरहरूले बताएका छन्। उनलाई शल्यक्रियापछि आइसियु र अहिले अस्पतालको क्याबिनमा राखेर उपचार भइरहेको छ। उनको स्वास्थ्यमा क्रमिक रूपमा सुधार भएको अस्पतालले जनाएको छ।



from Nagarik News - Home
Previous Post Next Post