एक वर्षदेखि निरन्तर कोभिड–१९ को महामारी झेलिरहेका सर्वसाधारणबीच अर्को प्राणघातक रोग बर्डफ्लु देखापरेको छ । मानव स्वास्थ्यमा गम्भीर असर पार्न सक्ने संक्रामक रोग बर्डफ्लु अहिले राजधानी काठमाडौँमा भित्रिइसकेको छ । बर्डफ्लु कुखुरा, हाँस, टर्की, जंगली चराचुरुङ्गीलगायत पन्छीमा लाग्ने सरुवा रोग हो । यो रोग मानिसमा पनि सर्छ । बर्डफ्लुको भाइरस कुखुराको मासु, प्वाँख, सिँगान, र्‍याल, सुली, दाना, अण्डा, अण्डा राख्ने क्रेट, दाना राखेको बोरा आदिको सम्पर्कबाट सर्छ । छिटो गतिमा फैलिने र ज्यान लिन सक्ने भएकाले बर्डफ्लु प्राणघातक रोग हो ।

केही समयअघि छिमेकी मुलुक भारतका विभिन्न राज्यमा बर्डफ्लु देखिएको थियो । भारतको मध्य प्रदेश, राजस्थान केरला र हिमाञ्चल प्रदेशमा देखिएको थियो । नेपाल–भारतबीच खुला सीमाका कारण भारतबाट यो रोग भित्रिएको अनुमान गरिएको छ । नेपाल कुखुराको मासु, अण्डालगायतमा आत्मनिर्भर छ । तर चल्ला र दाना भारतलगायत तेस्रो मुलुकबाट आयात हुँदै आएको छ । तथापि भारतबाटै नेपालमा रोग सरेको अनुमानको आधिकारिक पुष्टि हुन बाँकी छ ।

सरकारले अहिले फेला परेको बर्डफ्लु किसानले पालेका टर्की र हाँसमा भेटिएको भनेको छ । काठमाडौँ तारकेश्वर नगरपालिका–७, साङ्लेखोला फुटुङका बासिन्दाले पालेका पन्छीमा परीक्षण गर्दा ( एच ५ एन ८ भाइरस) भेटिएको हो । केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा रियल टाइम विधिबाट परीक्षण गर्दा यो भाइरस फेला परेको पुष्टि भएको हो । यो रोग थप फैलिन नदिन सरकारले रोग भेटिएका ठाउँका कुखुरालगायत पन्छी नष्ट गरिसकेको छ । अहिलेसम्म १ हजार ८ सय ६५ हाँस, ६ सय २२ बट्टाइ, ३२ कुखुरा, २५ वटा टर्र्की र तिनका अण्डा तथा दाना नष्ट गरिएको छ । सरकारले रोग देखापरेको क्षेत्रलाई पूर्ण निसंक्रमण गरेको दाबी गरेको छ ।

विगतमा नेपालमा देखिएको बर्डफ्लुको एच ५ एन १ भाइरस भन्दा अहिलेको एच ५ एन ८ भाइरस केही फरक प्रकृतिको छ । विगतको भन्दा अझै कडा देखिएको अनुमान सरकारको छ । नेपालमा देखिएको बर्डफ्लुको भाइरस भारतमा देखिएको भाइरससँग मिलेको छ । भारतका विभिन्न प्रदेशमा देखिएको यो रोग नेपालमा कसरी भित्रियो भन्ने जिज्ञासा सरकारी अधिकारीहरूको छ । यही कारण भारतबाट रोग सर्न सक्ने अनुमान गर्दै सरकारले पन्छीजन्य वस्तुको आयातमा पूर्ण प्रतिबन्ध लगाएको छ । रोग नियन्त्रणका लागि सरकारी संयन्त्र पनि परिचालन भइसकेको छ । बर्डफ्लु रोग पुष्टि भएको क्षेत्रबाट अन्यत्र फैलिन नदिन र तत्काल नियन्त्रणमा लिन सरकारले संघ, प्रदेश तथा स्थानीय तहलाई परिचालन गर्ने निर्णय गरिसकेको छ । पन्छी तथा पन्छीजन्य उत्पादन ओसारपसार गर्दा अनिवार्यरूपमा स्वास्थ्य परीक्षण गरी भेटनरी प्रमाणपत्र लिन निर्देशन दिइएको छ । किसानका फार्म परिसरमा जैविक सुरक्षाका विधि अवलम्बन गराउन, फार्म परिसरमा नियमितरूपमा निसंक्रमण गर्न पनि निर्देशन दिइएको छ । कुनै पनि पन्छी फार्म वा अन्य पन्छीपालन वा बिक्रीस्थलमा अस्वाभाविकरूपमा पन्छी बिरामी परेमा वा मरेमा तत्काल नजिकको पशु सेवा कार्यालयमा सूचना दिन पनि सरकारले भनेको छ ।

अर्कोतिर मुलुक कुखुरा र अण्डामा आत्मनिर्भर बनेको छ । बेलाबेलामा आउने यस्ता रोग फैलिन पुगे भने कुखुरा व्यवसायी पलायन हुने खतरा बढ्छ । त्यसै पनि कुखुराजन्य व्यवसायमा लगानी गर्नु उच्च जोखिम हो । एउटा सानो गल्तीले एकै पटकमा हजारौँको संख्यामा कुखुरा मर्न पुग्छन् । करोडौँ र अर्बौँको लगानी एकै छिनमा धराशायी हुन पुग्छ । त्यसैले यस्तो व्यवसायमा चुनौती आएका बेला सरकारले व्यवसायीलाई सहुलियत दिनुपर्छ ।

विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार सन् २००३ देखि २०२० सम्ममा नेपालमा यो रोगबाट एक जनाको ज्यान गएको छ । अहिलेसम्म विश्वका १८ वटा मुलुकमा देखिइसकेको यो रोग ८ सय ६२ जना व्यक्तिमा लागेको थियो । त्यसमध्ये ४ सय ५५ जनाले ज्यान गुमाएका छन् । बर्डफ्लु कोभिड जस्तो गम्भीर र नौलो रोग अवश्य होइन । गत वर्षदेखि देखिएको कोभिड–१९ का कारण अहिलेसम्म नेपालमा मात्र २ हजार भन्दा बढीको मृत्य भइसकेको छ । कुखुराको मासु ७२ डिग्री सेन्टिग्रेटभन्दा माथिको तापक्रममा पकाएर खाने हो भने भाइरस नष्ट हुन्छ भनिन्छ । त्यसैले यो रोगबाट बच्न मासु राम्रोसँग पकाएर मात्र खाने बानी बसाल्नुपर्छ ।

नेपालमा बर्डफ्लुबाट धेरै जनाको ज्यान नगए पनि यो रोग पन्छीबाट मानवमा सर्ने भएकाले उच्च सतर्कता अपनाउनु पर्छ । अहिलेको कोरोना कहरमा यसको जोखिम थप बढेको छ । जोखिमलाई ध्यानमा राखेर रोकथाम तथा नियन्त्रण गर्न सबै निकायलाई सतर्क बनाउनुपर्छ । भारतमा बर्डफ्लु देखिएपछि नै सरकारले उच्च सतर्कता अपनाउने भनेको थियो । सरकारले ठूला सबै भन्सार नाकामा रहेका पशु क्वारेन्टाइनलाई सतर्कता अपनाउन निर्देशन पनि दिएको हो । निर्णय गर्ने, निर्देशन दिने तर कार्यान्वयनमा हेलचेक्र्याइँ गर्ने सरकारको पुरानै शैली हो । अहिले त्यही भएको हो । सरकारी निर्णय कार्यान्वयन नहुँदा नै भारतबाट नेपालमा यो रोग आएको हो । भित्रिएको रोग थप फैलिन नदिन सरकारी निकाय सबैभन्दा बढी क्रियाशील हुनु जरुरी छ । कोभिड– १९ को कहरबाट पाठ सिकेका नागरिकले पनि सतर्कतालाई पहिलो शर्त बनाउन पछि पर्नु हुँदैन । सावधानी नै यसबाट जोगिने सर्वोत्तम उपाय हो ।



from Nagarik News - Home
Previous Post Next Post