हुम्लाको मुख्य यातायातको साधनका रूपमा रहेको हवाई सेवा दुई दिनदेखि प्रभावित भएको छ। जिल्लामा लागेको बाक्लो तुवाँलोका कारण सिमकोट विमानस्थलको हवाई सेवा दुई दिनदेखि प्रभावित भएको हो।

आइतबार बिहानदेखि देखिएको धुवाँजस्तो देखिने तुवाँलोका कारण दुई दिनदेखि नेपालगञ्ज तथा सुर्खेतबाट हुने सम्पूर्ण हवाई सेवा बन्द भएको छ। तुवाँलोको कारण दई दिनमा दुई दर्जनभन्दा बढी उडान रद्द भएका छन्।

तुवाँलोले सोमबार साँझसम्म पनि जिल्लाभर छोपेकाले आज पनि उडानको सम्भावना कम रहेको छ। उडान नभएपछि यात्रुलाई आवतजावत गर्न असहज भएको छ। काठमाडौंसहित देशभर असर गरेको वायुप्रदूषणले जिल्लाको हवाई सेवा प्रभावित बनाएको हो।

आइतबार बिहानदेखि जिल्लामा दृश्य क्षमता (भिजिबिलिटी) नपुग्दा दुई दिनदेखि हवाई सेवा प्रभावित बनेको हो। जिल्लाको एक मात्रै अन्तर जिल्ला जोड्ने हवाई सेवा प्रभावित हुँदा निर्माण सामग्रीदेखि दैनिक उपभोग्य सामग्रीको ढुवानीमा समेत समस्या भएको छ। नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको खाद्यान्न ढुवानीमा समेत बाधा पुगेको छ।



from Nagarik News - Home
Previous Post Next Post